‘गरिबीले विदेश, विदेशले हिंसा’

-ज्योति झा
जनकपुरधाम, ०९ जेठ । धनुषाको हंसपुर नगरपालिका अन्तर्गत पर्ने टील्ही गाउँको मुसहर समुदाय बसोबास गर्ने सानो बस्तीलाई स्थानीयले ‘६ नम्बर बस्ती’ भनेर चिन्ने गर्छन् ।
गाउँको मुख्य बस्तीभन्दा केही टाढा, कच्ची बाटो र झुपडीहरूको बीचमा रहेको त्यो बस्तीमा करिब ४० घर छन् । त्यहीँको एउटा सानो झुपडीमा बस्छिन् ३० वर्षीया बिनिता सदा ।
उनको कथा एउटा महिलाको व्यक्तिगत संघर्षको कथा मात्र नभई गरिबी, जातीय विभेद, बालविवाह, वैदेशिक रोजगारीको बाध्यता र महिला श्रमिकमाथि हुने शोषणको कठोर यथार्थ पनि हो ।
बिनिताको विवाह १२ वर्षको उमेरमै भयो ।मुसहर समुदायमा जन्मिएकी उनले विद्यालयको ढोका कहिल्यै टेक्न पाइनन् । ‘आमाबुबाले पढाइको महत्त्व बुझ्नुभएन । छोरी भएर जन्मिएकी मान्छेले किन पढ्ने भन्ने सोच थियो,’ उनी भन्छिन् ।
गरिबी, अशिक्षा र दलित समुदायमाथिको सामाजिक विभेदले उनको बाल्यकाल नै खोस्यो । पढ्ने उमेरमै विवाह भएपछि उनको संसार घरधन्दा र परिवारको जिम्मेवारीमा सीमित भयो ।
समय बित्दै जाँदा उनी दुई छोराकी आमा बनिन् । उनका श्रीमान् रोजगारीका लागि विदेश गए । करिब १२ वर्षसम्म विदेशको कमाइले घर धानिएको थियो । तर, नेपाल फर्किएपछि फेरि भारत गएका श्रीमान् विस्तारै सम्पर्कविहीन भए ।
‘पछि उहाँले हामीलाई नै बिर्सिनुभयो । धेरैले उतै अर्को परिवार बनाएको देखेको पनि भने,’ बिनिता भक्कानिँदै सुनाउँछिन् ।
श्रीमान् सम्पर्कविहीन भएपछि घरको सम्पूर्ण जिम्मेवारी बिनितामाथि आयो । बिहान–साँझको छाक टार्नसमेत कठिन हुन थाल्यो । देवरले केही समय सहयोग गरे पनि त्यो स्थायी समाधान थिएन ।
‘म आफैँ नपढेर यस्तो अवस्थामा पुगेँ । बच्चाहरूलाई पनि नपढाउने हो भने उनीहरूको भविष्य के हुन्छ भन्ने डर लाग्थ्यो,’उनी भन्छिन् ।
तर, गाउँमै काम पाउनु उनका लागि सहज थिएन । उनी दलित, अशिक्षित र महिला—यी तीनै कारणले श्रम बजारमा बारम्बार विभेद भोग्नुपरेको उनले बताइन् ।
‘काम खोज्न जाँदा धेरैले हेपेर फर्काउँथे । अशिक्षित दलित महिलालाई कसैले पत्याउँदैन,’उनी सम्झिन्छिन् ।
अन्ततः बाध्य भएर उनले २०८१ सालमा वैदेशिक रोजगारीको बाटो रोजिन् । गाउँकै चिनजानकी एक महिलाले उनलाई विदेश जान सुझाव दिइन् । ती महिला र उनका श्रीमान् विदेश पठाउने एजेन्टको काम गर्थे ।
‘फ्याक्ट्रीमा काम हुन्छ, ८ घण्टा मात्रै काम गर्नुपर्छ, राम्रो तलब पाइन्छ भनेर सम्झाइयो,’ बिनिता भन्छिन् ।
पासपोर्ट, टिकट र अन्य कागजातका नाममा करिब ५०–६० हजार रुपैयाँ खर्च भयो । काठमाडौं हुँदै उनलाई दिल्ली ट्रान्जिट गराएर कुवेत पठाइयो । तर, यात्रा सुरु भएपछि मात्रै उनले आफू घरेलु कामदारका रूपमा पठाइँदै गरेको थाहा पाइन् । ‘त्यही बेला मैले ठगिएको महसुस गरेँ,’ उनी भन्छिन् ।
वैदेशिक रोजगारीको नाममा महिलालाई अवैध रूपमा दिल्ली ट्रान्जिट गराएर खाडी मुलुक पठाउने अभ्यास अझै जारी रहेको अधिकारकर्मीहरू बताउँछन् । यस्तो प्रक्रियाले मानव बेचबिखन र श्रम शोषणलाई झन् बढाएको उनीहरूको भनाइ छ ।
कुवेत पुगेपछि बिनितालाई एक अरबी परिवारको घरमा काममा राखियो । भाँडा माझ्ने, कपडा धुने, घर सफा गर्ने, बच्चा स्याहार्ने सबै काम उनैले गर्नुपर्थ्यो ।
‘६ महिनाको बच्चा पूरा मैले हेर्थें । बिहानदेखि रातिसम्म काममै हुन्थें,’उनी सुनाउँछिन् । तर, कामअनुसारको व्यवहार भने उनले कहिल्यै पाइनन् ।
‘मलाई पर्याप्त खाना पनि दिइँदैनथ्यो । भोक लागेर लुकेर ट्वाइलेटमा बसेर खानुपर्थ्यो,’उनी भन्छिन् ।
भाषा अर्को ठूलो समस्या बन्यो । उनी अरबी भाषा बुझ्दिनथिन् भने मालिकहरूले नेपाली वा हिन्दी बुझ्दैनथे । केही समयपछि उनले सामान्य अरबी बोल्न सिकिन् । तर, अवस्था फेरिएन । ‘बिरामी हुँदा पनि आराम गर्न दिँदैनथे । उल्टै पिट्थे,’उनले भनिन् ।
धेरै संघर्षपछि उनी त्यहाँबाट भाग्न सफल भइन् । तर, त्यसपछि पनि सुरक्षित वातावरण भेटिएन । ‘जसको माध्यमबाट गएको थिएँ, उसले अर्को काम लगाइदियो । तर, उसको साथीहरूसँग शारीरिक सम्बन्ध राख्न दबाब दिन्थ्यो,’ उनी भन्छिन् ।
उनले आफूलाई झुक्न नदिएको बताइन् । ‘इज्जत बेच्नु भन्दा मर्नु राम्रो लाग्यो । धेरै पिटाइ खाएँ, दुःख पाएँ । तर, मानिनँ ।’
त्यति मात्र नभई आफूले कमाएको पैसा नेपाल पठाइदिन्छु भन्ने व्यक्तिले समेत धोका दिएको उनले सुनाइन् । ‘पछि पैसा पुगेन भनेर सोध्दा उल्टै प्रहरीमा दिने धम्की दियो,’उनी भन्छिन् ।
त्यसपछि उनी फेरि भागिन् । कुवेतको सडकमा अलपत्र परेकी उनलाई प्रहरीले पक्राउ गर्यो ।उनलाई १५ दिन जेलमा राखियो ।
‘जेलमा खाना र व्यवहार भने ठीक थियो । त्यहाँ म जस्तै धेरै महिला थिए,’ उनी सम्झिन्छिन् ।
सोधपुछपछि उनलाई नेपाल फिर्ता पठाइयो । नेपाल फर्किएपछि पनि उनको संघर्ष रोकिएको छैन । आर्थिक अभाव, मानसिक पीडा र सामाजिक अपमानबीच उनी अहिले पनि आफ्ना दुई छोरालाई पढाएर राम्रो भविष्य दिन चाहन्छिन् ।
बिनिताको कथा एक व्यक्तिको मात्र कथा होइन । नेपालका हजारौँ महिला श्रमिकले भोगिरहेको यथार्थको प्रतिनिधि कथा हो । विशेषगरी दलित, गरिब र अशिक्षित महिलाहरू सुरक्षित वैदेशिक रोजगारीबारे जानकारी नपाउँदा अवैध एजेन्टको जालमा फस्ने गरेका छन् ।
महिला घरेलु श्रमिकहरू प्रायः श्रम सम्झौताविपरीत काम गर्न बाध्य हुने, कुटपिट र मानसिक यातना भोग्ने, तलब नपाउने, यौन शोषणको जोखिममा पर्ने, भाषा र कानुनी जानकारी अभावका कारण प्रतिरोध गर्न नसक्ने अवस्थामा पुग्ने गरेका छन् ।
अधिकारकर्मीहरूका अनुसार गाउँस्तरमै सुरक्षित वैदेशिक रोजगारीबारे सचेतना अभाव, कमजोर निगरानी र गरिबीका कारण महिलाहरू अवैध एजेन्टको जालमा फसिरहेका छन् ।
यस्ता घटना रोक्न गाउँस्तरमै सुरक्षित वैदेशिक रोजगारीबारे व्यापक सचेतना आवश्यक छ । अवैध एजेन्टमाथि कडा कारबाही, दलित तथा विपन्न महिलाका लागि स्वदेशमै रोजगारी सिर्जना, महिला श्रमिकका लागि प्रभावकारी उद्धार संयन्त्र तथा बालविवाह अन्त्यका कार्यक्रम अपरिहार्य रहेको देखिन्छ ।
विदेशबाट फर्किएपछि बिनिताले एउटा गहिरो पाठ सिकेकी छन् । ‘विदेश जति सजिलो देखिन्छ, त्यति सजिलो छैन । घरको कामको नाममा धेरै महिलामाथि हिंसा हुन्छ । धेरै जना लुकेर भागिरहेका हुन्छन्,’ उनी भन्छिन् ।
उनले थपिन्, ‘म चाहन्छु कसैलाई पनि विदेश जानुपर्ने बाध्यता नआओस् । आफ्नै देशमा काम पाइयोस् । मैले विदेशमा धेरै दुःख पाएँ । तर, जीवन बुझ्ने अवसर पनि पाएँ ।’
टील्ही गाउँको ‘६ नम्बर बस्ती’ मा रहेको उनको झुपडी अहिले पनि गरिबीले घेरिएको छ । तर, त्यही झुपडीभित्र एउटी आमाको सपना अझै बाँचेको छ । आफ्ना छोराहरूलाई पढाएर आफूले गुमाएको भविष्य उनीहरूलाई दिलाउने बिनिताको सपना छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


