जेष्ठ नागरिकलाई निमोनिया रोगविरुद्धको खोप लगाउन सुरु

काठमाडौं, १४ कार्तिक । ललितपुर महानगरपालिकाले आइतबारदेखि जेष्ठ नागरिकलाई निमोनिया रोगविरुद्धको खोप लगाउन सुरु गरेको छ ।
पहिलो चरणमा ७४ वर्षमाथिका ५ हजार २ सय जना जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप लगाउन शुरु गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए । पहिलो दिन ललितपुर महानगरपालिका वडा नम्बर १–५ तथा २८ र २९ गरी ७ वटा वडामा खोप कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
दोस्रो दिन कात्तिक १५ गते वडा नम्बर ६–१३ सम्म गरी ८ वडा, कात्तिक १६ गते वडा नम्बर १४–२० गरी ७ वडा र कात्तिक १७ गते वडा नम्बर २१–२७ गरी ७ वडामा खोप कार्यक्रम सञ्चालन हुनेछन् । जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप लगाउने मुलुककै पहिलो स्थानीय तह ललितपुर महानगरपालिका भएको दावी उनको छ ।
नागरिकताको प्रमाणपत्र र वडा कार्यालयको सिफारिसको आधारमा जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप (पीसीभी–१३) दिने व्यवस्था मिलाइएको उनले बताए । वडामा रहेको खोप केन्द्रमा पुगि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउन सकिने र यो अभियान कात्तिक १७ गतेसम्म सञ्चालन हुने उनले बताए ।
दोस्रो चरण अन्तर्गत ७० देखि ७३ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप दिइने उनले बताए । यो उमेर समूहका जेष्ठ नागरिक करिब २ हजार ८ सय जना छन् । दोस्रो चरणको खोप कार्यक्रम छिट्टै सञ्चालन हुने अर्यालले जानकारी दिए ।
–अनलाइनखबर