फागुन १४ देखि जनकपुरधाममा आठौँ ‘जनकपुर साहित्य महोत्सव’ आयोजना हुने
जनकपुरधाम, १० मंसिर । मिथिलाको भाषा, साहित्य, कला, संस्कृति र संस्कारको प्रवर्द्धन गर्ने उद्देश्यले जनकपुर साहित्य महोत्सवको आठौँ संस्करण आगामी फागुन १४, १५ र १६ गते जनकपुरधाममा आयोजना हुने भएको छ ।
नव मिथिला फाउन्डेशनको आयोजनामा हुने महोत्सव जनकपुरधामस्थित राम मन्दिर पार्कमा तीन दिनसम्म सञ्चालन हुनेछ ।
महोत्सवले मिथिलाको मौलिक पहिचान, सांस्कृतिक सम्पदा तथा साहित्यिक चेतनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
नव मिथिला फाउन्डेशनका अध्यक्ष अमित साहले जनकपुर साहित्य महोत्सव साहित्यिक कार्यक्रम मात्र नभई मिथिलाको धरातल, संस्कृति र संस्कारलाई उत्सवका रूपमा प्रस्तुत गर्ने साझा मञ्च भएको बताए ।
उनका अनुसार भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्नु महोत्सवको मुख्य उद्देश्य हो ।
साहित्यकार, कलाकार, संस्कृतिकर्मी, बुद्धिजीवी तथा युवाहरूलाई एउटै मञ्चमा जोड्दै विचार, सिर्जना र विमर्शको वातावरण निर्माण गर्न महोत्सवले योगदान पुर्याउँदै आएको उनको भनाइ छ ।
मिथिलाको समृद्ध सांस्कृतिक परम्परा र समकालीन सिर्जनाबीच संवाद स्थापित गर्दै जनकपुरधामलाई साहित्यिक तथा सांस्कृतिक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसमेत महोत्सवले राखेको छ ।
आयोजकले साहित्य, कला, संस्कृति र सामाजिक क्षेत्रसँग आबद्ध व्यक्तित्वसहित आम सर्वसाधारणलाई महोत्सवमा सहभागी हुन हार्दिक निमन्त्रणा गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




