मधेशमा लैङ्गिक हिंसाको अवस्था चिन्ताजनक, तीन वर्षमा २ हजार ९६७ जनाले गरे आत्महत्या
जनकपुरधाम, १० मंसिर । मधेश प्रदेशमा लैङ्गिक हिंसासम्बन्धी घटनाको अवस्था भयावह देखिएको छ ।
घरेलु हिंसा, जबर्जस्ती करणी, बालविवाह, बहुविवाह तथा यौन दुर्व्यवहारजस्ता घटनामा अपेक्षित कमी आउन नसक्दा महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण बन्दै गएको छ ।
जनकपुरधाममा बिहीबार लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत आयोजित अन्तरक्रिया कार्यक्रममा प्रस्तुत तथ्याङ्कले मधेश प्रदेशमा महिला तथा बालबालिकासम्बन्धी हिंसाका घटना गम्भीर अवस्थामा रहेको देखाएको हो ।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा महिला तथा बालबालिकासम्बन्धी ६ हजार १८० घटना प्रहरीमा दर्ता भएका थिए ।
यस्तै, आर्थिक वर्ष २०८१/०८२ मा उक्त सङ्ख्या बढेर ७ हजार ५२६ पुगेको थियो । आर्थिक वर्ष २०८२/०८३ मा भने ५ हजार ८८८ घटना दर्ता भएका छन् । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म मात्रै थप १ हजार ८५१ घटना प्रहरीमा अभिलेख भएका छन् ।
यसैगरी, पछिल्लो तीन वर्षमा मधेश प्रदेशमा २ हजार ९६७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ । आत्महत्या गर्नेमा १ हजार १५४ महिला, १ हजार ६७ पुरुष, १३९ बालक र ६१२ बालिका रहेका छन् । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म मात्रै ३७४ जनाले आत्महत्या गरिसकेका छन् ।
हिंसाका घटना न्यूनीकरण गर्न प्रहरीले समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
आर्थिक वर्ष २०८२/०८३ मा ४ हजार ६४९ वटा सचेतनामूलक कार्यक्रममार्फत १ लाख २८ हजार २१३ जनालाई जागरुक गराइएको थियो ।
चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म २ हजार ६५४ कार्यक्रम सञ्चालन गरी ६१ हजार ५७८ जनालाई सहभागी गराइएको प्रहरीको विवरण छ ।
कार्यक्रममा मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव सुशीलकुमार साहले सामाजिक सोच र व्यवहारमा परिवर्तन हुन नसक्दा लैङ्गिक हिंसाका घटना नियन्त्रण गर्न कठिन भइरहेको बताए । उनले हिंसा अन्त्यका लागि प्रत्येक व्यक्ति आफैँ सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
साहले लैङ्गिक हिंसाविरुद्धको अभियान घरपरिवारबाटै सुरु गर्नुपर्ने उल्लेख गर्दै परिवारका सदस्यलाई सचेत बनाउनुका साथै दैनिक कम्तीमा एक जनालाई हिंसाविरुद्ध जागरुक बनाउन सके पनि सकारात्मक परिवर्तन सम्भव हुने बताए ।
लैङ्गिक हिंसा अन्त्यका लागि १६ दिने अभियान र औपचारिक कार्यक्रम मात्रै पर्याप्त नहुने सरोकारवालाहरूको भनाइ छ ।
पीडितलाई न्यायमा सहज पहुँच, दोषीमाथि प्रभावकारी कारबाही, हिंसाविरुद्ध आवाज उठाउने वातावरण र सामाजिक सोचमा परिवर्तन ल्याउन सके मात्रै हिंसा न्यूनीकरण सम्भव हुने उनीहरूको धारणा छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




