सिरहा, १० मंसिर । सिरहाको गोलबजार नगरपालिका–४ निपानेमा साइकलयात्रीलाई ठक्कर दिएर फरार भएको सवारीसाधनलाई प्रहरीले तीन दिनपछि नियन्त्रणमा लिएको छ ।

गत मंगलबार साँझ निपाने चोकमा साइकलमा सवार वसन्त महरालाई ठक्कर दिएर फरार भएको गाडी प्रहरीले खोजतलासका क्रममा फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वासुदेव पाठकका अनुसार दुर्घटनामा संलग्न बागमती प्रदेश ०१–०२५ च ७३९६ नम्बरको गाडी नियन्त्रणमा लिइएको छ ।

प्रहरी अनुसन्धानका क्रममा उक्त गाडी धनगढीमाई नगरपालिका–९ महुवा डाँडाका पल्टु रामको रहेको खुलेको एसपी पाठकले जानकारी दिए ।

नियन्त्रणमा लिइएको गाडी इलाका प्रहरी कार्यालय धनगढीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साइकलयात्री महराको दुर्घटनामा मृत्यु भएपछि आक्रोशित स्थानीयले फरार चालक र सवारीसाधनको खोजी गरी दोषीमाथि कारबाहीको माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका थिए ।

प्रहरीले घटनामा संलग्न चालकको पहिचान तथा दुर्घटनाको थप विवरणबारे अनुसन्धान अघि बढाएको जनाएको छ ।