गौर भन्सारको राजस्व सङ्कलन लक्ष्यभन्दा २४ प्रतिशत बढी
रौतहट, १० मंसिर । गौर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा निर्धारित लक्ष्यभन्दा २४ दशमलव ३७ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले साउनदेखि कात्तिक मसान्तसम्म कुल १६ करोड ६९ लाख ३ हजार रुपैयाँ राजस्व असुली गरेको हो ।
चार महिनाका लागि निर्धारित लक्ष्यभन्दा झण्डै ४ करोड रुपैयाँ बढी राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
कार्यालयको तथ्याङ्कअनुसार साउनमा ३ करोड १५ लाख रुपैयाँ लक्ष्य रहेकोमा ३ करोड ५८ लाख ३३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
भदौमा ३ करोड ६० लाख रुपैयाँ लक्ष्यका विरुद्ध ३ करोड २४ लाख ८ हजार रुपैयाँ मात्रै असुली भएको थियो ।
त्यस्तै, असोजमा ४ करोड ५० लाख रुपैयाँ लक्ष्य रहेकोमा ५ करोड ९७ लाख ३९ हजार रुपैयाँ र कात्तिकमा २ करोड ७० लाख रुपैयाँ लक्ष्यका विरुद्ध ३ करोड ९९ लाख २३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
असोज र कात्तिकमा लक्ष्यभन्दा उल्लेख्य बढी राजस्व सङ्कलन भएपछि समग्र चार महिनाको उपलब्धि लक्ष्यभन्दा माथि पुगेको हो ।

गौर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उपसचिव शुवन शर्माले सीमा क्षेत्रमा हुने चोरी निकासी तथा पैठारी नियन्त्रणका लागि विभिन्न सुरक्षा निकायसँगको समन्वय र सक्रियताले राजस्व सङ्कलनमा सकारात्मक प्रभाव परेको बताए ।
उनका अनुसार भन्सार कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त सक्रियता, नियमित गस्ती तथा निगरानीले अवैध कारोबार नियन्त्रणमा सहयोग पुगेको छ । भन्सार छलीका गतिविधि नियन्त्रण हुँदै जाँदा सरकारी राजस्वमा समेत वृद्धि भएको उनको भनाइ छ ।
सीमावर्ती क्षेत्रमा हुने अवैध आयात–निर्यात तथा राजस्व चुहावट नियन्त्रणलाई प्राथमिकतामा राखेर काम भइरहेको कार्यालयले जनाएको छ ।
पछिल्लो चार महिनाको राजस्व सङ्कलनले गौर भन्सारको कार्यसम्पादनमा सुधार देखाएको छ । सीमा क्षेत्रमा निगरानी र अनुगमनलाई थप प्रभावकारी बनाउँदै लैजान सके आगामी महिनामा पनि राजस्व सङ्कलन बढ्ने विश्वास गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




