जनकपुरधाम, १० मंसिर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विभिन्न राजनीतिक दलका केन्द्रीय तहका शीर्ष नेतासँग छलफल गरेपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

मुख्यमन्त्री यादवले केही दिनभित्रै काठमाडौँ पुगेर नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लगायतका दलका केन्द्रीय अध्यक्ष तथा शीर्ष नेताहरूसँग संवाद गर्ने बताएका छन् ।

आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले काठमाडौँमा राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरेपछि प्रदेश सरकार विस्तारको प्रक्रिया अघि बढाउने स्पष्ट पारे ।

‘केही दिनभित्रै काठमाडौँ जान्छु । कांग्रेस, एमाले र नेकपालगायतका दलका शीर्ष नेतासँग भेटेर छलफल गर्छु, त्यसपछि सरकार विस्तार गर्छु,’ उनले भने ।

मुख्यमन्त्री यादवले मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई समेटेर सर्वदलीय सरकार गठन गर्ने आफ्नो चाहना रहेको पनि बताए ।

प्रदेशमा राजनीतिक सहकार्य र सबै दलको सहभागितासहित सरकार सञ्चालन गर्ने उनको योजना छ ।

गत मङ्सिर ५ गते मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले प्रदेशसभाको सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी (नेपाल) का संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्री नियुक्त भएपछि सरकार विस्तारको तयारीमा जुटेका यादवले अब केन्द्रीय तहमा हुने राजनीतिक छलफल र सहमतिलाई मन्त्रिपरिषद् विस्तारको आधार बनाउने देखिएको छ ।