स्वतन्त्र प्रेस लोकतन्त्रको आधारस्तम्भ हो: सांसद सिंह
जनकपुरधाम, १० मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहले स्वतन्त्र पत्रकारिताबिना लोकतन्त्र सुदृढ हुन नसक्ने बताएका छन् ।
मेची–महाकाली पदयात्राका क्रममा जनकपुरधाम पुगेका सांसद सिंहले सञ्चारगृहबाटै पत्रकारहरूलाई पक्राउ गर्ने सरकारको कदमको विरोध गर्दै स्वतन्त्र प्रेसको पक्षमा आफ्नो धारणा व्यक्त गरेका हुन् ।
सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले प्रेस स्वतन्त्रता लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गर्दै पत्रकारितामाथि हुने कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने बताए ।
उनले आफू लोकतन्त्र, मानव अधिकार, कानुनी शासन र स्वतन्त्र पत्रकारिताको पक्षमा प्रतिबद्ध रहेको स्पष्ट पारे । स्वतन्त्र प्रेसबिना लोकतन्त्र बलियो र प्रभावकारी हुन नसक्ने उनको भनाइ थियो ।
यसैगरी, सांसद सिंहले आफ्नो मेची–महाकाली पदयात्रा देशमा कुनै पनि प्रकारको द्वन्द्व नहोस् भन्ने उद्देश्यले अघि बढाइएको बताए ।
उनले किसानले धानको उचित मूल्य पाउन नसकेको तथा तरकारी उत्पादक किसानले समेत उत्पादनको उचित मूल्य नपाएको विषयलाई पनि पदयात्राका क्रममा उठाउँदै आएको जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




