विभिन्न मुद्दाका पाँच फरार प्रतिवादी पक्राउ
जनकपुरधाम, १० मंसिर । धनुषा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय सुनाइएका पाँच जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा प्रहरी टोलीले खोजतलास तथा आवश्यक समन्वय गरी उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये एक जना चेक अनादर मुद्दाका प्रतिवादी रहेका छन् । उनलाई एक महिना कैद र दुई हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको थियो ।
त्यस्तै, कुटपिट मुद्दाका प्रतिवादीलाई तीन महिना कैद र १० हजार रुपैयाँ जरिवाना तथा लागूऔषध मुद्दाका प्रतिवादीलाई दुई महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो ।
यसैगरी, घरेलु हिंसा मुद्दाका एक जना प्रतिवादीलाई १५ हजार रुपैयाँ र कुटपिट मुद्दाका अर्का प्रतिवादीलाई पाँच हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको थियो ।
अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ परेका पाँचै जनालाई आवश्यक कानुनी कारबाहीका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
प्रहरीले अदालतबाट फैसला भई कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




