जनकपुरधाम, १२ कार्तिक । महोत्तरीमा बोक्सा–बोक्सी भएको आरोपमा स्थानीय केही महिलाहरुले देवर–भाउजूलाई कुटपिट गरेकी छन् ।

महिलाहरुको समूहले जिल्लाको औरही नगरपालिका–९ अगलेशरामा ५० वर्षीय एक पुरुष र उनकी ५५ वर्षीया भाउजूलाई बिहीबार साँझ बोक्सा–बोक्सीको आरोप लगाउँदै कुटपिट गरी मलमूत्र खुवाएका हुन् ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको प्रहरी टोलीले आँखा र खुट्टामा चोट लागेका उनीहरुलाई उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा भर्ना गराएका छन् ।

घटनामा संलग्नमध्ये एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।उनले पीडितको जाहेरीको आधारमा घटनामा संलग्नहरूलाई पक्राउ गरी चाँडै कारबाही गरिने बताए ।

महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रकाश विष्टले पीडित र पीडकलाई आज जिल्ला प्रहरी कार्यालय ल्याइने जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

यसअघि दसैंमा पनि बोक्सीकै आरोपमा एक महिलाको हत्या गरिएको थियो भने अर्कीलाई मलमूत्र खुवाइएको थियो ।