जनकपुरधाम, ०५ मंसिर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ का लागि मधेश प्रदेशस्तरीय कराते छनोट प्रतियोगिता सम्पन्न भएको छ ।

रौतहटको चन्द्रनिगाहपुरमा शनिबार सम्पन्न छनोट प्रतियोगितामा मधेश प्रदेशका आठवटै जिल्लाका खेलाडीहरूले विभिन्न विधा तथा तौल समूहमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको एकल काता पुरुषतर्फ धनुषाका बब्लु कबारी प्रथम हुँदा बाराका शुल्भ चौधरी दोस्रो तथा पर्साका विशम्भर पटेल र सर्लाहीका विकास सिङ्दाली तेस्रो भए ।

एकल काता महिलातर्फ सिरहाकी रिधिरानी चौधरी प्रथम, बाराकी पुष्पाञ्जली कुशवाहा दोस्रो तथा रौतहटकी विनिशा गुरुङ र सर्लाहीकी कमला स्याङ्दान तेस्रो भए ।

टिम काता पुरुषतर्फ सिरहाको टोली प्रथम, बाराको टोली दोस्रो तथा रौतहट र सप्तरीका टोली तेस्रो भए ।

महिला टिम कातातर्फ सिरहाको टोली प्रथम, महोत्तरीको टोली दोस्रो तथा रौतहट र सर्लाहीका टोली तेस्रो स्थानमा रहे ।

कुमितेतर्फ पुरुष ५० केजीमा सिरहाका प्रभास राज थापा, ५५ केजीमा सिरहाकै रोहित ठाकुर, ६० केजीमा महोत्तरीका आदित्य कालिकोटे, ६८ केजीमा सर्लाहीका दिनेश चिसिङ, ७५ केजीमा महोत्तरीका सम्यूल मगराती, ८४ केजीमा सर्लाहीका आरएन बोम्जन तथा ८४ केजीभन्दा माथिको तौल समूहमा सप्तरीका निहाल मण्डल प्रथम भए ।

त्यसैगरी महिलातर्फ ४५ केजीमा सिरहाकी प्रोशिया चौधरी, ५० केजीमा महोत्तरीकी मनिता मोक्तान, ५५ केजीमा सिरहाकी रविना परियार, ६१ केजीमा सिरहाकी रिया श्रेष्ठ तथा ६८ केजीमा सिरहाकी स्मारिका मगर प्रथम भए ।

६८ केजीभन्दा माथिको तौल समूहमा सर्लाहीकी मंजरी जिम्बाले प्रथम स्थान हासिल गरिन् ।

प्रतियोगितामा विभिन्न तौल समूह र विधामा दोस्रो तथा तेस्रो स्थान हासिल गर्ने खेलाडीहरू पनि मधेश प्रदेशका विभिन्न जिल्लाका रहेका छन् ।

छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेश प्रदेशको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् ।

आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ ।

प्रतियोगितामा ११ टोलीका खेलाडीहरूले ३२ खेलका ३८४ इभेन्ट्समा प्रतिस्पर्धा गर्ने र १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने जनाइएको छ ।