भारतको बनारसबाट अपहरणमुक्त भए धनुषाका चन्दन यादव
जनकपुरधाम, ०५ मंसिर । काठमाडौँबाट रहस्यमय ढंगले सम्पर्कविहीन भएका धनुषाका एक विद्यार्थी भारतको बनारसबाट अपहरणमुक्त भएका छन् ।
धनुषाको शहीदनगर नगरपालिका–२ मतौनाका चन्दन यादव (रामकृष्ण यादव) लाई भारतको बनारसबाट सकुशल उद्धार गरिएको हो ।
प्रतिनिधिसभा सदस्य रामविनोद यादवले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै चन्दन अपहरणमुक्त भएको जानकारी दिएका हुन् । उनका अनुसार हाल यादवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सकुशल नेपाल ल्याउने तयारी भइरहेको छ ।
शहीदनगर नगरपालिका–२ निवासी प्रमानन्द यादवका छोरा चन्दन काठमाडौँस्थित सेन्ट जेभियर्स कलेजमा कक्षा १२ मा अध्ययनरत छन् । पर्व मनाउन घर आएका उनी काठमाडौं फर्किने क्रममा गत मंसिर २ गते बिहान करिब ६ः१५ बजे बालकुमारी पुल क्षेत्रमा बसबाट ओर्लिएका थिए ।
त्यसपछि ट्याक्सी चढेर काठमाडौंको शान्तिनगरस्थित आफ्नो कोठातर्फ जाने क्रममा उनी सम्पर्कविहीन भएका थिए । ट्याक्सी चढ्नुअघि उनले भिनाजुसँग फोनमा कुराकानीसमेत गरेका थिए । सामान्यतया १० मिनेटभित्र कोठा पुग्नुपर्ने भए पनि लामो समयसम्म सम्पर्कमा नआएपछि परिवारले खोजी सुरु गरेको थियो ।
पछि उनी अपहरणमा परेको तथ्य सार्वजनिक भएपछि परिवारजन, आफन्त तथा सम्बन्धित निकायले खोजी तीव्र पारेका थिए ।
प्रतिनिधिसभा सदस्य यादवका अनुसार नेपाल सरकार, गृह मन्त्रालय, नेपाल प्रहरी, जिल्ला प्रहरी कार्यालय धनुषा तथा भारतीय प्रहरी प्रशासनलगायत निकायको समन्वय र पहलमा उनलाई भारतको बनारसबाट अपहरणमुक्त गराउन सफलता मिलेको हो ।
घटनामा सहयोग तथा समन्वय गर्ने भारत सरकार, भारतीय प्रहरी प्रशासन, नेपाल सरकार, नेपाल प्रहरी र अन्य सम्बन्धित निकायप्रति सांसद यादवले आभार व्यक्त गरेका छन् ।
उनले चन्दनको खोजी र उद्धारका लागि चासो, सहयोग तथा सद्भाव प्रकट गर्ने आफन्त, शुभचिन्तक, सञ्चारकर्मी र आम नागरिकलाई पनि धन्यवाद दिएका छन् ।
साथै, चन्दनलाई सकुशल नेपाल ल्याई परिवारसँग पुनर्मिलन गराउने प्रक्रिया शीघ्र पूरा गर्न र उनको स्वास्थ्य, सुरक्षा तथा मनोवैज्ञानिक अवस्थालाई ध्यानमा राख्दै आवश्यक संरक्षण र सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




