मधेशको आर्थिक समृद्धिका लागि उद्यमशीलता प्रवर्द्धनमा जोड
जनकपुरधाम, ०५ मंसिर । मधेश प्रदेशको आर्थिक विकास, रोजगारी सिर्जना र समृद्धिका लागि स्थानीय उद्यमशीलताको विकास तथा निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
ग्लोबल इन्टरप्रेन्योरशिप सप्ताह २०२६ को अवसरमा शनिबार जनकपुरधाममा आयोजित ‘अर्थतन्त्र निर्माणमा उद्यमीहरूको भूमिका’ विषयक प्यानल संवादमा सहभागी वक्ताहरूले उद्यमीलाई प्रदेशको आर्थिक रूपान्तरणको महत्वपूर्ण आधारका रूपमा स्थापित गर्नुपर्ने बताएका हुन् ।
मधेश प्रदेशमा कृषि, उद्योग, पर्यटन तथा सेवा क्षेत्रमा उद्यमशीलताको प्रशस्त सम्भावना रहे पनि नीतिगत जटिलता, लगानीमैत्री वातावरणको अभाव, संस्थागत कमजोरी र दक्ष जनशक्तिको कमीका कारण अपेक्षित विकास हुन नसकेको उनीहरूको भनाइ थियो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन प्राध्यापक प्रा.डा. बिनोद साह, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका कार्यकारी निर्देशक प्रदीप दत्त, महिला उद्यमी सुनैना ठाकुर र मोनास्टिक एजुकेशन ग्रुपका अध्यक्ष डा. सोनु कुमारले उद्यमशीलता विकासका चुनौती र सम्भावनाबारे धारणा राखेका थिए ।
आर्थिक पत्रकार समाज नेपालका हदिस खुद्दारले संवादको सहजीकरण गरेका थिए ।
वक्ताहरूले युवालाई जागिर खोज्नेभन्दा पनि रोजगारी सिर्जना गर्ने जनशक्तिका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
त्यसका लागि परम्परागत शिक्षण प्रणालीमा सुधार गर्दै विद्यालय तथा विश्वविद्यालय तहदेखि नै व्यावहारिक, सीपमूलक र प्रविधिमैत्री शिक्षालाई प्राथमिकता दिनुपर्ने उनीहरूको सुझाव थियो ।
उद्यम गर्न चाहने युवालाई आवश्यक सीप, पुँजी, प्रविधि, बजारको पहुँच र परामर्श सेवा उपलब्ध गराउन सरकार तथा निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको उनीहरूले बताए ।
यसैबीच, मधेश प्रदेशमा उद्यमशीलता, नवप्रवर्तन र स्थानीय अर्थतन्त्रको विकासमा योगदान पुर्याएका ६ जना उदाउँदा उद्यमीलाई कार्यक्रममा सम्मान गरिएको छ ।
सम्मानित हुनेमा आशुतोष बहुउद्देशीय तथा साना घरेलु उद्योगकी आशिका गिरी, दामी आर्ट्सकी काजल झा, बाँसका शिल्पकार बृजकिशोर मल्लिक डोम, प्रियांशु बाख्रा तथा मखाना फार्मकी जुली कुमारी झा, लक्ष्मी बहुउद्देशीय मत्स्य तथा पशुपक्षी पालन फार्मका ललित नारायण झा र बिबिएस चायवालाका उत्सव गुप्ता रहेका छन् ।
उद्यमशीलता, व्यवसाय विस्तार, नवप्रवर्तन र स्थानीय अर्थतन्त्रमा पुर्याएको योगदानको कदर गर्दै उनीहरूलाई प्रशंसापत्रसहित सम्मान गरिएको आयोजकले जनाएको छ ।
इकोनोमिक प्रोग्रेस एण्ड इनोभेसन सेन्टर (EPIC) को मासिक कार्यक्रम ‘आगु बढू–उद्यमी किस्सा’ अन्तर्गत दस्तावेजीकरण गरिएका उद्यमशील यात्राका आधारमा उनीहरूको छनोट गरिएको हो ।
स्थानीय उद्यमीका संघर्ष, अनुभव र सफलताका कथा विद्यार्थी तथा युवामाझ पुर्याएर उद्यमशील सोच विकास गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
कार्यक्रममा मधेश प्रदेश सरकारका निवर्तमान अर्थमन्त्री युवराज भट्टराईले सम्मानित उद्यमीहरूलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
सो अवसरमा निवर्तमान अर्थमन्त्री भट्टराईले आफ्नो नेतृत्वमा ल्याइएको आर्थिक वर्ष २०८३/०८४ को बजेटमा नवउद्यमीलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम समेटिएको दाबी गरे ।
उद्यमशीलताको विकास र नयाँ व्यवसायको विस्तारलाई प्रदेशको आर्थिक समृद्धिसँग जोड्नुपर्ने उनको भनाइ थियो ।
सरकारको एकल प्रयासबाट मात्रै प्रदेशलाई आर्थिक रूपमा समृद्ध बनाउन नसकिने उल्लेख गर्दै उनले उद्योगी, व्यवसायी, वित्तीय संस्था तथा अन्य सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताए ।
निजी क्षेत्रको सक्रिय सहभागिता र लगानीबिना आर्थिक विकासले गति लिन नसक्ने उनको धारणा थियो ।
इकोनोमिक प्रोग्रेस एण्ड इनोभेसन सेन्टरको आयोजनामा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश, नेपाली युवा उद्यमी मञ्च जनकपुरधाम र समृद्धि फाउन्डेसन काठमाडौंको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।
सन् २०२४ देखि मधेश प्रदेशमा ग्लोबल इन्टरप्रेन्योरशिप सप्ताह मनाउँदै आएको EPIC ले यस वर्ष उद्यमशीलता प्रवर्द्धन, नवप्रवर्तनलाई प्रोत्साहन, उद्यमीबीच सहकार्य तथा स्थानीय उद्यमीको योगदानको पहिचान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ ।
सन् २००८ देखि सुरु भएको ग्लोबल इन्टरप्रेन्योरशिप सप्ताह हरेक वर्ष नोभेम्बरमा विश्वका १६० भन्दा बढी देशमा मनाइँदै आएको छ ।
जनकपुरधामको जीरोमाइलस्थित बाँस वाटिकामा आयोजित कार्यक्रममा करिब ४० देखि ५० जनाको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




