जनकपुरधाम, ०५ मंसिर । दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै दिदीबहिनीले मनाउने मधेशको मौलिक लोकपर्व सामाचकेवा पछिल्लो समय ओझेलमा पर्दै गएको छ ।

आधुनिक जीवनशैली, युवा पुस्ताको घट्दो आकर्षण र परम्परागत संस्कृतिप्रतिको बेवास्ताका कारण यस पर्वको मौलिकता संकटमा पर्न थालेको हो ।

छठ पर्वको खरनादेखि सुरु भएर पूर्णिमासम्म मनाइने सामाचकेवा पर्वमा दिदीबहिनीहरूले माटोबाट सामा, चकेवा, चुगला, सतभइया, वृन्दावनलगायतका आकृति तयार पार्ने गर्छन् । ती आकृतिलाई विभिन्न रङले सजाएर साँझपख गाउँघरमा सामूहिक रूपमा लोकगीत गाउँदै नाचगान गर्ने परम्परा छ ।

दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, आत्मीयता तथा पारिवारिक सद्भावको प्रतीकका रूपमा लिइने यस पर्वले पुस्तौँदेखि मधेशी समाजको सांस्कृतिक पहिचान जोगाउँदै आएको छ ।

पर्व अवधिभर महिलाहरू समूहमा भेला भएर सामाचकेवासम्बन्धी परम्परागत गीत गाउने, कथा सुनाउने र सांस्कृतिक गतिविधिमा सहभागी हुने गर्छन् । पर्वको अन्तिम दिन पूर्णिमामा दाजुभाइको सहभागितामा माटाका प्रतिमा फुटाएर बाजागाजासहित विसर्जन गर्ने चलन रहेको छ ।

तर, पछिल्लो समय यस्ता परम्परागत गतिविधिमा सहभागिता घट्दै गएको छ । नयाँ पुस्तामा लोकसंस्कृति र परम्परागत पर्वप्रतिको रुचि कमजोर हुँदै जाँदा सामाचकेवाको मौलिक स्वरूप हराउने जोखिम बढेको संस्कृतिविद् परमेश्वर कापडी बताउँछन् ।

धनुषासहित मधेश प्रदेशका विभिन्न जिल्लामा परम्परागत रूपमा मनाइने यो पर्व धार्मिक तथा सांस्कृतिक उत्सव मात्र नभई पारिवारिक सम्बन्ध, सामाजिक एकता र सामुदायिक सद्भाव अभिव्यक्त गर्ने महत्वपूर्ण माध्यमसमेत रहेको उनको भनाइ छ ।

मधेशको मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेको सामाचकेवा पर्वलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न संरक्षणका प्रभावकारी कार्यक्रम आवश्यक रहेको मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी बताउँछन् ।

यसका लागि स्थानीय तहले सांस्कृतिक महोत्सव आयोजना गर्ने, विद्यालयस्तरमा लोकसंस्कृतिबारे जानकारी दिने तथा स्थानीय सांस्कृतिक समूह र अभियन्तालाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

समयमै संरक्षण र प्रवर्द्धनका प्रयास नगरिए मधेशको पहिचानसँग जोडिएको यो मौलिक लोकपर्व भावी पुस्ताका लागि इतिहास र स्मृतिमा मात्रै सीमित हुने खतरा छ ।