रौतहट, ०५ मंसिर । छोरा सम्पर्कविहीन भएको जानकारी गराउँदै खोजी तथा उद्धारका लागि फोन गरेका एक प्रहरी हवल्दारमाथि आफूलाई प्रहरी नायब निरीक्षक (सई) बताउने कर्मचारीले गालीगलौज गरेको अडियो सार्वजनिक भएपछि रौतहट प्रहरीले छानबिन प्रक्रिया अघि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा कार्यरत प्रहरी हवल्दार बुधन महतोमाथि प्रहरी हवल्दार सुरेशप्रसाद यादवलाई फोन संवादका क्रममा अपशब्द प्रयोग गरी दुर्व्यवहार गरेको आरोप लागेको हो ।

सन्तपुर बेसमा कार्यरत हवल्दार यादव आफ्नो छोरा सम्पर्कविहीन भएपछि खोजी तथा उद्धारका लागि जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा फोन गरेका थिए । सोही क्रममा ‘जय नेपाल’ नभनेको भन्दै सञ्चार शाखामा कार्यरत महतोले आफूलाई सई बताउँदै यादवमाथि गालीगलौज गरेको आरोप छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियोमा यादवले फोन उठाउने व्यक्तिसँग आफ्नो परिचय सोध्दै ‘को बोल्नुभयो सर, हवल्दार साहेब कि असई साहेब?’ भनेको सुनिन्छ । त्यसपछि आफूलाई सई बताउने व्यक्तिले बोल्ने शैलीप्रति आपत्ति जनाउँदै झपारेको र आफ्नो दर्जा बताउन नमिल्ने आशयको जवाफ दिएको सुनिन्छ ।

पछि यादवले ‘जय नेपाल’ भन्दै छोरा हराएको विषयमा जानकारी गराउन खोज्दा पनि फोन संवादमा गालीगलौज भएको अडियोमा सुनिन्छ । छोराको खोजीका लागि सहयोग माग्न फोन गर्दा प्रहरी कर्मचारीबाटै दुर्व्यवहार भएको भन्दै उक्त घटनाको आलोचना भइरहेको छ ।

अडियो सार्वजनिक भएपछि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक प्रभुप्रसाद ढकालद्वारा जारी विज्ञप्तिमा मंसिर ४ गते जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा कार्यरत प्रहरी कर्मचारी र डुमरिया सुरक्षा बेसमा कार्यरत प्रहरी कर्मचारीबीच भएको संवादमा प्रयोग भएको भाषा, शब्द र शैलीप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

प्रदेश प्रहरी कार्यालयले सार्वजनिक अडियोमा सुनिएको संवाद प्रहरी आचरणविपरीत देखिएकाले घटनाको वास्तविकता पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिएको छ ।

छानबिनबाट दोषी देखिने प्रहरी कर्मचारीलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) बमोजिम आवश्यक विभागीय कारबाही गरी त्यसको नतिजा यथाशीघ्र प्रदेश प्रहरी कार्यालयमा पठाउनसमेत निर्देशन दिइएको विज्ञप्तिमा जनाइएको छ ।

यसअघि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले पनि हवल्दार महतोमाथि कारबाही प्रक्रिया अघि बढाइएको बताएका थिए । घटनाबारे थप बुझ्न हवल्दार यादवलाई समेत बोलाइएको उनको भनाइ थियो ।

डीएसपी शाहीका अनुसार महतोबाट गल्ती भएको पुष्टि भए विभागीय कारबाही अघि बढाइनेछ । यद्यपि, हवल्दार यादवले संवादको अडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको विषय पनि छानबिनका क्रममा उठेको उनले बताएका छन् ।