मधेशमा नयाँ सरकार गठनको बल प्रदेश प्रमुखको कोर्टमा
जनकपुरधाम, ०४ मंसिर । मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अन्योलमा परेको छ ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न दिएको समयभित्र कुनै पनि दलले दाबी पेस नगरेपछि सरकार गठन प्रक्रिया थप लम्बिने देखिएको छ ।
प्रदेश प्रमुखको कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रयोजनका लागि मंसिर ४ गते शुक्रबार अपराह्न ४ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका थिए ।
तर, तोकिएको समयभित्र कुनै पनि दल वा प्रदेश सभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेस नगरेपछि प्रदेश प्रमुखको कार्यालयले आगामी प्रक्रियाका विषयमा आवश्यक छलफल तथा परामर्श गरिरहेको जनाएको छ ।
यसैबीच, नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाका संसदीय दलका नेताहरूले सरकार गठनका लागि दाबी पेस गर्ने समय थप गर्न प्रदेश प्रमुखसमक्ष आग्रह गरेका छन् ।
तीन दलका नेताहरूले आवश्यक छलफल र सहमतिका लागि थप समय आवश्यक रहेको भन्दै समय थप गरिदिन अनुरोध गरेका हुन् ।
मुख्यमन्त्रीबाट कृष्णप्रसाद यादवले गत कार्तिक २८ गते नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) अनुसार राजीनामा दिएका थिए ।
त्यसपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।
तीन दलबीच सरकार गठनका विषयमा सहमति जुट्न नसक्दा मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया थप पेचिलो बनेको छ ।
अब प्रदेश प्रमुखले समय थपको मागबारे गर्ने निर्णयले सरकार गठनको आगामी बाटो तय गर्नेछ ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




