सोनामाई कृषि सहकारीले बचतकर्तालाई फिर्ता गर्यो थप ४ लाख
महोत्तरी, ०४ मंसिर । महोत्तरीको औरहीस्थित सोनामाई कृषि सहकारी संस्था लिमिटेडमा बचत गरेको रकम फिर्ता नपाएको भन्दै प्रशासनमा उजुरी दिएकी एक बचतकर्ताले थप चार लाख रुपैयाँ फिर्ता पाएकी छन् ।
महोत्तरीको मनरासिस्वा नगरपालिका–६ सरपल्लो निवासी ३४ वर्षीया इन्दु कुमारी देवीले सहकारीमा जम्मा गरेको १२ लाख रुपैयाँमध्ये बाँकी रहेको चार लाख रुपैयाँ मंसिर ४ गते फिर्ता पाएकी हुन् ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीमा दिएको निवेदनका आधारमा यसअघि कार्तिक १२ गते भएको सहमतिअनुसार उनले आठ लाख रुपैयाँ फिर्ता पाइसकेकी थिइन् । बाँकी चार लाख रुपैयाँ पनि बिहीबार प्रशासन कार्यालयमा भएको छलफलपछि फिर्ता गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयमा भएको सहमतिअनुसार सहकारीका तर्फबाट उपस्थित सुशीलकुमार साहका छोरा सुनिलकुमार साहले इन्दु कुमारी देवीलाई बाँकी चार लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
यद्यपि, सहकारीमा जम्मा गरेको रकमको ब्याज भुक्तानी गर्ने विषयमा भने दुवै पक्षबीच सहमति जुट्न सकेको छैन । ब्याज रकमबारे पुनः छलफल गर्न दुवै पक्ष मंसिर १० गते जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुने सहमति भएको छ ।
इन्दु कुमारी देवीले सोनामाई कृषि सहकारी संस्थामा जम्मा गरेको आफ्नो १२ लाख रुपैयाँ फिर्ता नपाएपछि सहकारीका अध्यक्ष विश्वनाथ साह कानुका छोरा सुशीलकुमार साह र संस्थाका सञ्चालक राजाराम साहलाई विपक्षी बनाई जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकी थिइन् ।
प्रशासनको पहलमा भएको पटकपटकको छलफलपछि बचतकर्ताले आफ्नो जम्मा रकमको मूलधन फिर्ता पाएकी छन् । अब ब्याज रकम भुक्तानीको विषय टुंग्याउन बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




