जनकपुरधामका आठ डेरी तथा पसलमा खाद्य प्रविधिको अनुगमन
जनकपुरधाम, ०४ मंसिर । जनकपुरधाम उपमहानगरपालिकाभित्र सञ्चालनमा रहेका डेरी उद्योग तथा पसलहरूमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गरेको अनुगमनका क्रममा व्यवसाय दर्ता र खाद्य अनुमतिपत्रलगायतका कानुनी प्रक्रिया पूरा नगरी दूध तथा दुग्धजन्य पदार्थ बिक्री वितरण भइरहेको पाइएको छ ।
कार्यालयले शुक्रबार गरेको अनुगमनका क्रममा आठवटा डेरी उद्योग तथा पसलमा विभिन्न कैफियत फेला पारेको हो ।
अनुगमनका क्रममा श्रीकृष्ण दूध डेरी उद्योग, कृष्ण फर्म डेरी, कृष्ण दूध डेरी उद्योग, किसान दूध डेरी, अनमोल किराना जनरल स्टोर, सृष्टि दूध डेरी, शिवांश दूध डेरी र नेशनल कृष्णा डेरी उद्योगमा अनुगमन गरिएको प्रतिवेदनमा उल्लेख छ ।
अनुगमन गरिएका अधिकांश फर्ममा व्यवसाय दर्ता नभएको, खाद्य अनुमतिपत्र नलिएको तथा दूध, दही र पनिर खुला रूपमा बिक्री वितरण भइरहेको पाइएको छ । केही डेरीमा दही तथा पनिरमा अनिवार्य लेबल विवरणसमेत नरहेको भेटिएको छ ।
कार्यालयका खाद्य निरीक्षण अधिकृत प्रविणकुमार तिवारीले तयार पारेको प्रतिवेदनअनुसार सम्बन्धित व्यवसायीहरूलाई अनिवार्य रूपमा व्यवसाय दर्ता गर्न, खाद्य अनुमतिपत्र लिन तथा दुग्धजन्य पदार्थमा पूर्ण लेबल विवरण राखेर मात्र बिक्री वितरण गर्न निर्देशन दिइएको छ ।
त्यस्तै, खाद्य पदार्थको गुणस्तर परीक्षणका लागि विभिन्न डेरीबाट दही, पनिर र दूधको नमुनासमेत संकलन गरिएको छ । संकलित नमुना प्रयोगशालामा परीक्षणका लागि पठाइने प्रतिवेदनमा उल्लेख छ ।
खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्नुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै पनि व्यवसाय दर्ता, अनुमतिपत्र र लेबलिङजस्ता आधारभूत मापदण्ड पूरा नगरी दुग्धजन्य पदार्थ बिक्री भइरहेको अनुगमनले देखाएको छ ।
कार्यालयले सम्बन्धित व्यवसायीलाई आवश्यक प्रक्रिया पूरा गरेर मात्रै खाद्य पदार्थ बिक्री वितरण गर्न निर्देशन दिएको जनाएको छ ।












तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




