जनकपुरधाम, ०४ मंसिर । मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अन्योलमा परिरहेका बेला जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधानको धारा १६८ को उपधारा (३) अनुसार सरकार गठनका लागि आह्वान गर्न माग गरेको छ ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतको सरकार गठन गर्न दिएको समयसीमाभित्र कुनै पनि दलले दाबी पेस गर्न नसकेपछि जसपाले उपधारा (३) अनुसार सरकार गठनको प्रक्रिया अघि बढाउन माग गरेको हो ।

नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले भने उपधारा (२) अनुसार सरकार गठनका लागि दाबी पेस गर्ने समय थप गर्न प्रदेश प्रमुखसँग आग्रह गरेका छन् ।

प्रदेश प्रमुखले गत कार्तिक २८ गते उपधारा (२) अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गर्दै मंसिर ४ गते अपराह्न ४ बजेसम्मको समय दिएका थिए । तर, निर्धारित समयभित्र दलहरूले सरकार गठनका लागि दाबी पेस गर्न सकेनन् ।

कांग्रेससमेत एमाले र नेकपासँगै प्रदेश प्रमुखको कार्यालय पुगेपछि प्रदेशसभाको सबैभन्दा ठूलो दल जसपा थप सशंकित बनेको छ ।

जसपाको तर्कमा उपधारा (२) अनुसार सरकार गठनका लागि आह्वान भइसके पनि त्यसअनुसार सरकार गठन हुन नसकेकाले अब उपधारा (३) अनुसार प्रक्रिया अघि बढाउनुपर्छ ।

संविधानको धारा १६८ को उपधारा (३) मा प्रदेशसभामा सबैभन्दा ठूलो दलको संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । यस व्यवस्थाअनुसार मधेशमा सबैभन्दा ठूलो दलको हैसियतमा रहेको जसपाले सरकारको नेतृत्व दाबी गर्न सक्ने देखिएको छ ।