जनकपुरधाम, ०४ मंसिर । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने समय थप गर्न तीन राजनीतिक दलले प्रदेश प्रमुखसँग आग्रह गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका नेताहरूले संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठनका लागि दाबी पेस गर्ने समय थप गर्न माग गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयले शुक्रबार अपराह्न ४ बजेसम्म दाबी पेस गर्न दिएको समयसीमा सकिनै लाग्दा तीनै दलका नेताहरू थप समय माग गर्दै प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।

कांग्रेस संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादव, एमाले संसदीय दलका नेता सरोजकुमार यादव र नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका नेता युवराज भट्टराईले आवश्यक राजनीतिक छलफल जारी रहेकाले समय थप गर्न आग्रह गरेका हुन् ।

तीन दलबीच सरकार गठनका विषयमा सहमति जुट्न नसकेपछि निर्धारित समयभित्र दाबी पेस हुन सकेको थिएन ।

उनीहरूले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नै सरकार गठनको प्रक्रिया अघि बढाउन थप समय दिन प्रदेश प्रमुखसमक्ष आग्रह गरेका छन् ।