जनकपुरधाम, ०४ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधिलाई पार्टीको १५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिन मधेश प्रदेशका नेताहरूले आग्रह गरेका छन् ।

आगामी मंसिर २१ देखि २३ गतेसम्म हुने कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै शुक्रबार जनकपुरधाममा बसेको नेताहरूको बैठकले निधिलाई सभापति पदमा उम्मेदवारी दिन आग्रह गरेको हो ।

प्रदेश संयोजक पदमनारायण चौधरीको अध्यक्षतामा बसेको बैठकमा सहभागी सातै प्रदेशका नेताहरूले निधिको उम्मेदवारीप्रति पूर्ण समर्थन रहने प्रतिबद्धतासमेत जनाएका छन् ।

बैठकमा सहभागी नेताहरूले पार्टीलाई वर्तमान राजनीतिक चुनौतीको सामना गर्न सक्षम, एकताबद्ध र गतिशील बनाउन अनुभवी तथा संगठनात्मक क्षमता भएको नेतृत्व आवश्यक रहेको धारणा राखेका थिए ।

उनीहरूले निधिको लामो राजनीतिक अनुभव र संगठन सञ्चालनको क्षमताले पार्टीलाई नयाँ दिशा दिन सक्ने विश्वास व्यक्त गरे ।

पूर्वउपप्रधानमन्त्री तथा पूर्वगृहमन्त्रीसमेत रहिसकेका निधिले नेपाली कांग्रेसको संगठन निर्माण, राजनीतिक समन्वय र पार्टीको आन्तरिक एकतामा लामो समयदेखि भूमिका निर्वाह गर्दै आएका छन् ।

धनुषा निर्वाचन क्षेत्र नम्बर–३ बाट राष्ट्रिय राजनीतिमा प्रभावशाली पहिचान बनाएका उनी कांग्रेसका स्थापित नेताका रूपमा परिचित छन् ।

बैठकमा जिल्ला सभापति कोमलकान्त झासहित विभिन्न प्रदेशका नेताहरूको सहभागिता रहेको थियो ।

प्रदेशका नेताहरूले सभापति पदमा उम्मेदवारी दिन गरेको आग्रहसँगै कांग्रेसको आगामी महाधिवेशनमा निधिको सम्भावित उम्मेदवारीलाई लिएर पार्टीभित्र राजनीतिक चर्चा थप चुलिने देखिएको छ ।