चर्चित टिकटकर बुदुर पासवानको मृत्यु
जनकपुरधाम, ३० कार्तिक । धनुषाका चर्चित टिकटक प्रयोगकर्ता बुदुर पासवानको मृत्यु भएको छ ।
सामाजिक सञ्जाल टिकटकमा हास्यव्यङ्ग्य तथा मनोरञ्जनात्मक भिडियोमार्फत लोकप्रिय बनेका पासवानको सोमबार अपराह्न उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार धनुषाको औरही गाउँपालिका–१ पौडेश्वरस्थित जनकपुर–पौडेश्वर सडकखण्डको छेउमा उनी सिकिस्त बिरामी अवस्थामा फेला परेका थिए ।
प्रहरीका अनुसार सडक छेउमा रगत वान्ता गरिरहेको अवस्थामा भेटिएका उनलाई तत्काल उपचारका लागि जनकपुरधाम ल्याइएको थियो । तर, अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
सामान्य जनजीवनका घटना, हास्यव्यङ्ग्य र मनोरञ्जनात्मक प्रस्तुतिलाई आफ्ना भिडियोमा समेट्ने गरेका पासवान स्थानीय दर्शकमाझ निकै परिचित थिए । उनको सरल र सहज प्रस्तुतिका कारण टिकटकमा उनलाई पछ्याउने तथा उनका भिडियो रुचाउनेको संख्या उल्लेख्य थियो ।
उनले टिकटकका विभिन्न चर्चित व्यक्तित्वसँग समेत भिडियो निर्माण गरेका थिए । मनोरञ्जनात्मक शैलीमा प्रस्तुत हुने उनका भिडियोले सामाजिक सञ्जालमा राम्रो चर्चा पाउने गरेका थिए ।
उनको मृत्युको खबर सार्वजनिक भएसँगै उनलाई चिन्ने, माया गर्ने तथा उनका भिडियो हेर्ने सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले दुःख व्यक्त गरिरहेका छन् ।
पासवानको मृत्युको कारणबारे भने प्रहरीले थप विवरण सार्वजनिक गरेको छैन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




