जनकपुरधाम, ३० कार्तिक । मधेश प्रदेशको मौलिक लोकसंस्कृति, परम्परा र पहिचानसँग जोडिएको नटुवा नाच पछिल्लो समय संकटमा पर्दै गएको छ ।

पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको यो परम्परागत लोककला आधुनिक मनोरञ्जनका साधनको बढ्दो प्रभाव, नयाँ पुस्ताको घट्दो आकर्षण र दक्ष कलाकारको अभावका कारण लोप हुने अवस्थामा पुगेको हो ।

ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको नटुवा नाच मधेश तथा तराई क्षेत्रको पुरानो लोकपरम्परामध्ये एक हो ।

नटुवा समुदायको पुख्र्यौली कलाका रूपमा परिचित यस नाचमा समाजका विभिन्न पक्ष, लोकआस्था, प्रेम, रिस, द्वेष, सामाजिक तथा वर्गीय विभेदलगायतका विषयलाई गीत, संगीत र अभिनयमार्फत मनोरञ्जनात्मक ढङ्गले प्रस्तुत गरिन्छ ।

नटुवा नाचको सबैभन्दा विशिष्ट पक्ष यसको भेषभूषा र नृत्यशैली हो । यसमा मुख्यतः पुरुष कलाकारहरूले महिलाको परम्परागत पहिरन साडी, चोलो तथा घाँघरा लगाएर आकर्षक शृङ्गारसहित नृत्य प्रस्तुत गर्छन् । गीतको तालमा नाच्ने क्रममा कलाकारहरूले उफ्रिने, फनफनी घुम्ने तथा विभिन्न शारीरिक कलाबाजी प्रदर्शन गरेर दर्शकलाई मनोरञ्जन प्रदान गर्छन् ।

ढोलक, झ्याली, हार्मोनियम र नगाडाजस्ता परम्परागत लोकबाजाको तालमा प्रस्तुत गरिने गीत तथा नृत्यले नटुवा नाचलाई थप आकर्षक बनाउँछ । यसले मनोरञ्जन मात्र प्रदान गर्दैन, तत्कालीन समाजको जीवनशैली, सामाजिक सम्बन्ध र सांस्कृतिक परिवेशलाई समेत प्रतिबिम्बित गर्छ ।

कुनै समय गाउँघरमा विवाह, व्रतबन्ध, छठ, दशैँ तथा विभिन्न स्थानीय मेलापर्वमा नटुवा नाच प्रमुख आकर्षणका रूपमा रहने गथ्र्यो । शुभकार्यका अवसरमा मनोरञ्जनका लागि मात्र नभई भाकल पूरा भएपछि तथा देवीदेवताको पूजाआजाका क्रममा पनि यो नाच प्रदर्शन गर्ने परम्परा रहेको रौतहटको गरुडा नगरपालिकाका स्थानीय संजय साह बताउँछन् ।

उनका अनुसार पहिले गाउँघरका उत्सव तथा धार्मिक अनुष्ठानमा नटुवा नाच अनिवार्यजस्तै मानिन्थ्यो । तर, पछिल्लो समय त्यस्ता अवसरमा आधुनिक गीतसंगीत र अन्य मनोरञ्जनका माध्यमले स्थान लिन थालेपछि नटुवा नाचको उपस्थिति घट्दै गएको छ ।

समय परिवर्तनसँगै सांस्कृतिक मनोरञ्जनका स्वरूपमा आएको बदलावले नटुवा नाचलाई प्रत्यक्ष असर पारेको छ । नयाँ पुस्ताले यसप्रति पर्याप्त चासो नदेखाउनु, पुराना कलाकारबाट नयाँ पुस्तामा सीप हस्तान्तरण नहुनु तथा कलाकारको जीविकोपार्जनको सुनिश्चितता नहुनुले पनि यसको निरन्तरतामा चुनौती थपेको छ ।

मधेशको मौलिक पहिचान बोकेको यस्तो लोककलाको संरक्षणका लागि स्थानीय सरकार, प्रदेश सरकार, सांस्कृतिक संस्थान तथा सरोकारवाला निकायले ध्यान दिन आवश्यक देखिन्छ । पुराना कलाकारको सीप र अनुभवको अभिलेखीकरण, नयाँ पुस्तालाई तालिम, सांस्कृतिक महोत्सवमा नियमित प्रस्तुति तथा कलाकारलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गर्न सके यसको संरक्षणमा सहयोग पुग्न सक्ने जानकारहरुको भनाइ छ ।

नटुवा नाच मनोरञ्जनको माध्यम मात्र नभई यो मधेशको इतिहास, सामाजिक जीवन र सांस्कृतिक पहिचानसँग जोडिएको सम्पदा हो । आधुनिकताको नाममा पुस्तौँदेखि जोगिँदै आएको यस्तो मौलिक कला हराउँदै जानु सांस्कृतिक विविधताका दृष्टिले पनि चिन्ताको विषय हो ।

त्यसैले नटुवा नाचलाई विगतको सम्झनामा मात्र सीमित नराखी नयाँ पुस्तासम्म पुर्याउनु आवश्यक छ । समयमै संरक्षण र प्रवद्र्धनका प्रयास नगरिए मधेशको यो मौलिक लोककला इतिहासका पानामा मात्र सीमित हुने जोखिम रहेको जानकारहरु बताउँछन् ।