जानकी मन्दिरबाट अमरेश सिंहको मेची–महाकाली पदयात्रा सुरु
जनकपुरधाम, ३० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले मेची–महाकाली पदयात्रा सुरु गरेका छन् ।
सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद सिंहको नेतृत्वमा सोमबार बिहान जनकपुरधामस्थित जानकी मन्दिर परिसरबाट पदयात्रा शुभारम्भ गरिएको हो ।
पदयात्राको उद्घाटन रास्वपा सभापति रवि लामिछानेले गरेका हुन् । छठ पर्व मनाउन मधेश आएका लामिछाने जानकी मन्दिर परिसरमा आयोजित कार्यक्रममा सहभागी हुँदै पदयात्राको औपचारिक शुरुवात गरेका थिए ।
सांसद सिंहले यो पदयात्रालाई परम्परागत राजनीतिक अभियानभन्दा फरक ढंगले नागरिकका वास्तविक समस्या, आवश्यकता र अपेक्षा बुझ्ने अभियानका रूपमा अघि बढाउने बताए । यात्राका क्रममा विभिन्न गाउँबस्तीमा पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, उनीहरूका गुनासा सुन्ने र समाधानका सम्भावित उपाय पहिचान गर्ने उनको योजना छ ।
पदयात्राका क्रममा स्थानीय उत्पादन, बजार व्यवस्थापन, रोजगारीका अवसर, आर्थिक सम्भावना, न्यायिक तथा कानुनी समस्या र सरकारी सेवा प्रवाहमा देखिएका कठिनाइबारे जानकारी संकलन गरिनेछ । साथै स्थानीय, प्रदेश र संघीय सरकारबाट हुनुपर्ने नीतिगत सुधारका विषयसमेत पहिचान गरिने सिंहले जनाएका छन् ।
त्यसैगरी सीमा क्षेत्रका समस्या, सीमा सुरक्षामा स्थानीय समुदायको योगदान तथा प्रहरी प्रशासन र सुरक्षाकर्मीले भोगिरहेका चुनौतीलाई समेत यात्राका क्रममा अभिलेखीकरण गरिनेछ । महिला, ज्येष्ठ नागरिक, दलित, अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायका आवाजलाई विशेष प्राथमिकता दिइने बताइएको छ ।
हिमाल, पहाड र तराईबीचको सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसमेत पदयात्राले बोकेको छ । स्थानीय संस्कृति, खानपान र जनजीवनसँग जोडिँदै राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने लक्ष्य राखिएको छ ।
यात्राका क्रममा संकलन गरिएका नागरिकका समस्या, स्थानीय आवश्यकता र सम्भावित समाधानलाई तथ्यगत रूपमा दस्तावेजीकरण गरी काठमाडौं फर्किएपछि संसद्, सरकार र नीतिनिर्माणको तहसम्म पुर्याउने सांसद सिंहको भनाइ छ ।
नागरिकलाई भाषण सुनाउनेभन्दा उनीहरूका कुरा सुन्ने र उनीहरूकै सहभागितामा समस्या पहिचान गरी समाधानका लागि नीतिगत पहल गर्ने उद्देश्यले पदयात्रा सुरु गरिएको उनको दाबी छ ।



तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




