छठघाटमै यादवको रहस्यमय मृत्यु
जनकपुरधाम, ३० कार्तिक । धनुषाको शहीदनगर नगरपालिकामा छठघाटको रेखदेख गर्न पोखरीमा एक्लै बसेका ६० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।
मृतकको अनुहारमा धारिलो हतियारले प्रहार गरेको जस्तो चोट देखिएपछि घटनालाई शंकास्पद रूपमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
शहीदनगर नगरपालिका–२ मतौनास्थित धनी पोखरीमा छठघाट निर्माण गरी रेखदेख गर्न बसेका सोही ठाउँका ६० वर्षीय रामजतन यादव सोमबार बिहान ६ बजे मृत अवस्थामा फेला परेका हुन् । स्थानीयस्तरमा उनी ’म्यानेजर’ नामले चिनिन्थे ।
प्रहरीका अनुसार यादव आइतबार राति पोखरीमा निर्माण गरिएको छठघाटको रेखदेख गर्न एक्लै बसेका थिए । भोलिपल्ट बिहान उनी मृत अवस्थामा फेला परेपछि घटनाबारे प्रहरीलाई जानकारी गराइएको थियो ।
मृतकको दाहिने गालामा मुखदेखि कानको लोतीसम्म धारिलो हतियारले काटेको जस्तो चोट देखिएको छ । घटनास्थल नजिकै पानीमा परालको कुटी काट्न प्रयोग हुने दाउसमेत फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालको कमान्डमा कुकुरसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खनालका अनुसार घटनाको अनुसन्धानका क्रममा एक जनालाई नियन्त्रणमा लिइएको छ । घटनाको वास्तविक कारण र संलग्न व्यक्तिबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
प्रहरीले घटनाको सबै पक्षबाट अनुसन्धान गरिरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




