जनकपुरधाम, २८ कार्तिक । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्ने अवस्था नरहेको निष्कर्ष निकाल्दै पदबाट राजीनामा दिएका छन् ।

प्रदेशसभामा विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले वर्तमान राजनीतिक समीकरण र संसदीय अंकगणितका आधारमा आफ्नो नेतृत्वको सरकारलाई निरन्तरता दिन सम्भव नदेखिएको बताएका हुन् ।

सम्बोधनका क्रममा उनले सरकार टिकाउन आवश्यक बहुमत जुटाउने प्रयास गरे पनि प्रदेशसभाको अंकगणित आफ्नो पक्षमा नरहेको उल्लेख गर्दै पदमा रहिरहनुभन्दा राजीनामा दिनु उपयुक्त ठानेको बताए ।

१०३ सदस्यीय मधेश प्रदेशसभामा सरकार टिकाउन कम्तीमा ५२ सांसदको समर्थन आवश्यक पर्छ । तर, नेपाली कांग्रेसका २२ सांसद मात्रै रहेकाले मुख्यमन्त्री यादवलाई बहुमतका लागि थप ३० सांसदको समर्थन आवश्यक थियो ।

सरकारमा सहभागी नेकपा एमालेका चार मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए भने नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले पनि कार्तिक २० गते राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

दुई प्रमुख सहयोगी दलले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सरकार जोगाउन मुख्यमन्त्री यादवले विभिन्न राजनीतिक दलसँग छलफल र संवाद अघि बढाएका थिए । तर, बहुमत जुटाउने प्रयास सफल हुन नसकेपछि उनले राजीनामाको बाटो रोजेका हुन् ।

मुख्यमन्त्री यादवको राजीनामासँगै मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच नयाँ समीकरण र सत्ता सहकार्यको चर्चा सुरु हुने देखिएको छ ।