जनकपुरधाम, ०७ मंसिर । भारतको अयोध्याधाम र नेपालको जनकपुरधामबीच सिधा रेलसेवा सञ्चालन हुने भएको छ ।

दुई धार्मिक नगरीलाई रेलमार्गबाट जोड्ने उद्देश्यले सुरु हुन लागेको अन्तरदेशीय रेलसेवाको औपचारिक उद्घाटन सोमबार हुने कार्यक्रम छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट भिडियो कन्फरेन्समार्फत संयुक्त रूपमा रेलसेवाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

उद्घाटनपछि भारतको अयोध्याबाट रेल जनकपुरधामका लागि प्रस्थान गर्नेछ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले अयोध्यामा रेललाई हरियो झन्डा देखाएर बिदाइ गर्ने कार्यक्रम रहेको नेपाल रेलवे कम्पनीले जनाएको छ ।

मंगलबार बिहान ९ बजेर २५ मिनेटमा जनकपुरधाम आइपुग्ने रेलमा भारतीय रेलवेका अधिकारीसहित करिब एक हजार एक सय आमन्त्रित अतिथि सहभागी हुनेछन् ।

जनकपुरधाम रेलवे स्टेसनमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अतिथिहरूको स्वागत गर्ने कार्यक्रम छ ।

अतिथिको स्वागतका लागि रेलवे स्टेसनमा पन्डाल निर्माण, सांस्कृतिक कार्यक्रम तथा धार्मिक स्थलहरूको भ्रमणको व्यवस्था मिलाइएको छ ।

अतिथिहरूलाई जानकी मन्दिर, राम मन्दिर र जनक मन्दिरलगायतका धार्मिक स्थलको अवलोकन गराउन एक दर्जन बसको व्यवस्था गरिएको छ ।

जनकपुरधाम आइपुगेको रेल तीन घण्टा यहाँ बसेर पुनः अयोध्याका लागि प्रस्थान गर्नेछ ।

प्रारम्भिक रूपमा उद्घाटन समारोहमा सहभागी अतिथिहरूलाई मात्रै यात्रा गराइनेछ । त्यसपछि आगामी शनिबारदेखि सातामा एक दिन व्यावसायिक रूपमा रेल सञ्चालन गर्ने तयारी छ ।

रेल नम्बर १५५९५ र १५५९६ अन्तर्गतको सरयुग–कमला एक्सप्रेस तत्काल जनकपुरधाम–अयोध्या रुटमा सञ्चालन हुनेछ ।

करिब ६०४ किलोमिटर दूरी पार गर्ने रेलले भारतको बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै अयोध्याधामसम्म सेवा दिनेछ ।

१७ डिब्बा रहेको उक्त रेलमा करिब एक हजार पाँच सय यात्रु बोक्ने क्षमता छ ।

जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्या क्यान्टबाट प्रत्येक सोमबार रेल सञ्चालन गर्ने तयारी गरिएको छ । अयोध्यादेखि जनकपुरधामसम्मको यात्रा पूरा गर्न करिब १९ घण्टा लाग्ने अनुमान छ ।

सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको जन्मभूमि अयोध्याबीच प्रत्यक्ष रेल सम्पर्क स्थापित हुनुलाई धार्मिक पर्यटनका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

रेलसेवा सञ्चालनमा आएपछि दुवै धार्मिक सहरमा भारतीय तथा नेपाली पर्यटकको आवागमन सहज हुने विश्वास गरिएको छ ।

यसबाट जनकपुरधामको होटल, यातायात, रेस्टुरेन्ट, हस्तकला तथा स्थानीय उत्पादनको व्यापार विस्तारमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

अयोध्या आउने धार्मिक पर्यटकलाई जनकपुरधामसम्म आकर्षित गर्न सके मधेश प्रदेशको पर्यटन र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने सरोकारवालाहरूको भनाइ छ ।

यद्यपि, नयाँ अन्तरदेशीय रेलसेवाबाट लाभ लिन जनकपुरधाममा पर्यटन पूर्वाधार, सरसफाइ, यातायात र पर्यटकमैत्री सेवाको विकास गर्नुपर्ने आवश्यकता पनि उत्तिकै छ ।

यसअघि सञ्चालनमा रहेको जनकपुर–जयनगर रेलसेवाको व्यवस्थापन, भौतिक पूर्वाधार र यात्रु सुविधामा सुधार गर्नुपर्ने चुनौतीसमेत कायमै छ ।