जनकपुरधाममा विवाह पञ्चमीको रौनक सुरु हुँदै, साताव्यापी कार्यक्रम सार्वजनिक
जनकपुरधाम, ०६ मंसिर । त्रेतायुगमा भगवान् श्रीराम र माता सीताको विवाह भएको स्मरणमा मनाइने ऐतिहासिक तथा धार्मिक महत्त्वको सीताराम विवाह पञ्चमी महामहोत्सव यस वर्ष मंसिर २३ गतेदेखि जनकपुरधाममा सुरु हुने भएको छ ।
श्री जानकी मन्दिर र विवाह पञ्चमी महामहोत्सव मूल समारोह समितिको आयोजनामा मंसिर २३ देखि २९ गतेसम्म साताव्यापी विवाह महोत्सव मनाउन लागिएको हो ।
महोत्सवअन्तर्गत जनकपुरधाम नगर दर्शनदेखि फूलबारी लीला, धनुष यज्ञ, तिलकोत्सव, मटकोर, स्वयंवर तथा शुभविवाह र रामकलेवासम्मका धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ ।
जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले विवाह पञ्चमी जनकपुरधामको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचानसँग जोडिएको महत्वपूर्ण पर्व भएको बताए ।
उनले भगवान् श्रीराम र माता सीताको विवाह उत्सवमा सहभागी हुन देश तथा विदेशका श्रद्धालु भक्तजनलाई आमन्त्रण गर्दै महोत्सवलाई भव्य र सभ्य बनाउन सबैको सहयोग आवश्यक रहेको बताए ।
उनका अनुसार मंसिर २३ गते बुधबार अपराह्न ५ बजेदेखि जानकी मन्दिर प्राङ्गणबाट नगर दर्शन कार्यक्रम सुरु हुनेछ । मंसिर २४ गते फूलबारी लीला, २५ गते बाह्रबिघा मैदानमा धनुष यज्ञ, २६ गते तिलकोत्सव र २७ गते गंगासागरमा मटकोर कार्यक्रम आयोजना हुनेछ ।
त्यस्तै, मंसिर २८ गते सोमबार विवाह पञ्चमीको मुख्य दिन स्वयंवरका लागि रंगभूमि मैदानमा विशेष कार्यक्रम हुनेछ । त्यसपछि साँझ ६ बजेदेखि जानकी मन्दिर प्राङ्गणमा भगवान् राम र माता सीताको शुभविवाह सम्पन्न गरिने कार्यक्रम रहेको छ ।
मंसिर २९ गते रामकलेवा आयोजना गरी महोत्सवको समापन गरिनेछ ।
यसैगरी, मंसिर १६ गतेदेखि २२ गतेसम्म जानकी मन्दिर प्राङ्गणमा श्रीमद्भागवत महायज्ञसमेत सञ्चालन हुनेछ ।
बालव्यास पूज्य हरिशरण जी महाराजको मुखारविन्दबाट हुने भागवत कथावाचन अपराह्न ३ बजेदेखि ६ बजेसम्म सञ्चालन गरिने आयोजकले जनाएको छ ।
महोत्सवको अवसरमा मंसिर २५ गते सीताराम गौशालाबाट १११ मिटर लामो चुनरी जानकी मन्दिरमा चढाउने कार्यक्रमसमेत तय गरिएको छ । त्यस्तै, मंसिर २३ देखि २८ गतेसम्म जानकी मन्दिर प्राङ्गणमा रामलीला प्रदर्शन गरिनेछ ।
उत्तराधिकारी महन्थ दासले विवाह पञ्चमीमा सहभागी हुन आउने श्रद्धालु तथा अतिथिहरूलाई जनकपुरधामवासीले आफ्नो क्षमताअनुसार आवास, भोजन तथा अन्य सेवामा सहयोग गर्न आग्रह गरे ।
विवाह पञ्चमी महोत्सवमा सहभागी हुन नेपालका विभिन्न जिल्ला तथा भारतको अयोध्यासहित विभिन्न स्थानबाट साधुसन्त, महन्थ, श्रद्धालु र पर्यटकहरू जनकपुरधाम आउने विश्वास गरिएको छ ।
भगवान् राम र सीताको विवाहको प्रतीकात्मक उत्सवका रूपमा मनाइने यो महोत्सवले धार्मिक पर्यटन प्रवर्द्धनसँगै मिथिलाको कला, संस्कृति र परम्परालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




