जनकपुरधाम, ०६ मंसिर । मैथिली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले जनकपुरधाममा विद्यापति स्मृति पर्व–२०८३ मनाइएको छ ।

जनकपुरधामको विद्यापति चोकस्थित दुर्गा मन्दिर परिसरमा विद्यापति स्मृति पर्व समारोह समितिको आयोजनामा पर्व मनाइएको हो ।

कार्यक्रममा सहभागी वक्ताहरूले महाकवि विद्यापतिको योगदानको स्मरण गर्दै मैथिली भाषा, साहित्य र मिथिलाको मौलिक संस्कृतिको संरक्षणमा जोड दिएका थिए ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणसँगै सामाजिक सद्भाव कायम गर्न यस्ता सांस्कृतिक पर्वको महत्वपूर्ण भूमिका रहने बताए ।

उनले आफ्नो मौलिक पहिचानप्रति गर्व गर्दै भाषा र संस्कृतिलाई व्यवहारमै जीवन्त राख्नुपर्ने आवश्यकता औँल्याए । यस्ता सांस्कृतिक गतिविधिले सामाजिक एकता, सांस्कृतिक सद्भाव र नयाँ पुस्तामा आफ्नो मौलिक पहिचानप्रतिको चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।

विद्यापति स्मृति पर्व समारोह समितिका अध्यक्ष कौशल किशोर मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मैथिली भाषा, साहित्य तथा संस्कृतिको वर्तमान अवस्था, संरक्षण र पुस्तान्तरणका विषयमा समेत चर्चा गरिएको थियो ।

महाकवि विद्यापतिको साहित्यिक योगदानलाई नयाँ पुस्तासम्म परिचित गराउनुका साथै मैथिली भाषा, साहित्य र मिथिलाको मौलिक सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले पर्व आयोजना गरिएको आयोजकले जनाएको छ ।