जनकपुरधाम, ०६ मंसिर । नेपालको जनकपुरधाम र भारतको अयोध्याधामबीच सिधा रेल सेवा सञ्चालन हुने भएको छ ।

भारतीय रेल मन्त्रालयले जनकपुरधाम–अयोध्या क्यान्ट–जनकपुरधाम साप्ताहिक एक्सप्रेस रेल सञ्चालनका लागि स्वीकृति दिएसँगै दुई धार्मिक नगरीबीच रेलमार्गबाट प्रत्यक्ष सम्पर्क स्थापित हुन लागेको हो ।

रेल सेवा सुरु गर्नुअघि सोमबार उद्घाटन विशेष रेल सञ्चालन गरिने भएको छ ।

रेल नम्बर ०४२९५/०४२९६ रहेको उक्त विशेष रेलमा १७ वटा डिब्बा रहनेछन् । यात्रुको सुविधाका लागि रेलमा सामान्य तथा वातानुकूलित दुवै श्रेणीका डिब्बा राखिएको छ ।

निर्धारित तालिकाअनुसार सोमबार दिउँसो १२:३० बजे भारतको अयोध्याधामबाट जनकपुरधामका लागि रेल प्रस्थान गर्नेछ । विभिन्न स्टेसनमा रोकिँदै उक्त रेल मंगलबार बिहान नेपाली समयअनुसार १० बजे जनकपुरधाम आइपुग्नेछ ।

त्यसैगरी, जनकपुरधामबाट अयोध्याधामका लागि मंगलबार दिउँसो १ बजे रेल छुट्नेछ । उक्त रेल बुधबार बिहान ८:१० बजे अयोध्याधाम पुग्ने समयतालिका निर्धारण गरिएको छ ।

अयोध्याधामबाट जनकपुरधाम आउने क्रममा रेल मनकापुर, बस्ती, गोरखपुर, पनियहवा, नरकटियागन्ज, रक्सौल, सीतामढी, शिशो हल्ट, मधुबनी र जयनगर कस्टम्स यार्ड हुँदै सञ्चालन हुनेछ । फर्कने क्रममा पनि रेल त्यही मार्ग भएर अयोध्या पुग्नेछ ।

नेपाल–भारत सीमा क्षेत्रमा पर्ने जयनगर कस्टम्स यार्डमा भन्सार तथा अन्य आवश्यक प्रक्रियाका लागि रेल करिब एक घण्टा रोकिने व्यवस्था गरिएको छ ।

हाल उद्घाटन विशेष रेलको समयतालिका सार्वजनिक गरिएको भए पनि नियमित साप्ताहिक रेल सेवा कुन बार सञ्चालन हुने भन्नेबारे पूर्व मध्य रेलवेले विस्तृत विवरण सार्वजनिक गर्न बाँकी छ ।

जनकपुरधाम माता सीताको जन्मभूमि र अयोध्या भगवान् रामको जन्मभूमिका रूपमा परिचित छन् । दुवै शहर धार्मिक, सांस्कृतिक तथा पौराणिक सम्बन्धले जोडिएका छन् ।

सिधा रेल सेवा सञ्चालनमा आएपछि रामजानकी दर्शनका लागि नेपाल तथा भारतबाट आउने तीर्थयात्रीलाई आवतजावतमा सहज हुने विश्वास गरिएको छ । साथै, दुई देशबीचको धार्मिक पर्यटन र सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउन पनि यसले योगदान पुर्‍याउने विश्वास गरिएको छ ।