राइजिङ स्टार्स एसिया कपमा नेपालको पहिलो जित, यूएई ६ विकेटले पराजित
जनकपुरधाम, ०६ मंसिर । कुशल भुर्तेलको अर्धशतकीय इनिङ्स र कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङ प्रदर्शनमा नेपालले कतारमा जारी राइजिङ स्टार्स एसिया कपमा पहिलो जित दर्ता गरेको छ ।
आइतबार भएको खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो ।
यूएईले दिएको १२२ रनको सामान्य लक्ष्य नेपालले २२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा कुशल भुर्तेलले सर्वाधिक ५७ रनको योगदान दिए । उनले ५६ बलमा ६ चौका र एक छक्का प्रहार गरे । मयन यादवले २७ तथा बसिर अहमदले अविजित १८ रन बनाए ।
यूएईका मुहम्मद मोहसिनले २ विकेट लिए भने उदीस सुरी र अंश टन्डनले समान एक–एक विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएई नेपाली बलरको कसिलो बलिङसामु ३९.५ ओभरमा १२१ रनमै समेटिएको थियो ।
यूएईका मोहम्मद शाहदादले सर्वाधिक ४० रन बनाउँदा हरप्रीत सिंह भाटियाले ३२ र नूर उल्लाह अयोबीले १२ रन जोडेका थिए ।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा मात्र ११ रन खर्चिएर ३ विकेट लिए । उनले आफ्नो स्पेलमा ३ ओभर मेडनसमेत राखेका थिए ।
त्यस्तै, कुशल भुर्तेलले पनि ३ विकेट लिए भने नन्दन यादव, रासिद खान र ललित राजवंशीले समान एक–एक विकेट झारे ।
प्रतियोगिताको पहिलो खेलमा भारत ‘ए’ विरुद्ध निराशाजनक प्रदर्शन गरेको नेपाल २६ रनमै अलआउट भएको थियो । उक्त खेलमा नेपाल ३०६ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।
नेपालले अब प्रतियोगिताअन्तर्गत मंगलबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । यूएईविरुद्धको जितले नेपाललाई प्रतियोगितामा पुनरागमन गर्ने अवसर दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




