सामाचकेवा महोत्सवमा विद्यालयतर्फ मोडर्न नेपाल र ग्रामीणतर्फ पुलचोक प्रथम
जनकपुरधाम, ०६ मंसिर । मैथिली भाषा, कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले जनकपुरधाममा आयोजित सामाचकेवा महोत्सव–२०८३ को तेस्रो शृङ्खला शनिबार राति सम्पन्न भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको सहकार्यमा मैथिली विकास कोषले आयोजना गरेको महोत्सवअन्तर्गत जानकी मन्दिरको प्राङ्गणमा सामा खेल प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा १० वटा विद्यालय र ७ वटा ग्रामीण सामा समूह गरी १७ समूहको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विद्यालयतर्फ मोडर्न नेपाल इङ्गलिस मेडियम बोर्डिङ स्कुल प्रथम, साउथ प्वाइन्ट स्कुल द्वितीय र ऊ आर सी एस स्कुल तृतीय भएका छन् ।
त्यसैगरी, ग्रामीण समूहको प्रतिस्पर्धामा सामा समूह पुलचोक प्रथम, कुवा समूह द्वितीय र रामपुर समूह तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।
महोत्सवमा मैथिलीका मौलिक गीत, संगीत, सामा खेल तथा परम्परागत सांस्कृतिक प्रस्तुतिमार्फत मैथिल समुदायको सांस्कृतिक वैभव र मौलिक पहिचान झल्काइएको थियो ।
मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले सामाचकेवा पर्वको मौलिकता, महत्व र सांस्कृतिक पक्षलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए ।
उनले भाषा, कला, संस्कृति र परम्पराको संरक्षणसँगै त्यसको पुस्तान्तरण पनि उत्तिकै आवश्यक रहेको उल्लेख गर्दै यस्ता महोत्सवले नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचान र सांस्कृतिक विरासतसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
मिथिलाञ्चलको मौलिक लोकसंस्कृतिका रूपमा रहेको सामाचकेवा पर्वलाई सामूहिक रूपमा मनाउने र यसको परम्परागत स्वरूपलाई जीवन्त राख्ने प्रयासस्वरूप महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




