जनकपुरधाम, २८ कार्तिक । चाडपर्वको समयमा बजार क्षेत्रमा बढ्ने भीडभाड र सवारी आवागमनलाई व्यवस्थित बनाउने उद्देश्यले जनकपुरधाममा फुटपाथ खाली गराउन प्रहरीले माइकिङ सुरु गरेको छ ।

छठ पर्वलगायतका चाडपर्वका बेला किनमेल गर्ने सर्वसाधारणको चाप बढ्ने र सडक तथा फुटपाथमा व्यापारिक सामग्री राख्दा पैदलयात्री र सवारीसाधनको आवागमनमा समस्या हुने भएकाले प्रहरीले फुटपाथ अतिक्रमण हटाउन व्यवसायीलाई सचेत गराउन थालेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाले बजार क्षेत्रका विभिन्न स्थानमा माइकिङ गर्दै फुटपाथ तथा सडकपेटीमा राखिएका पसलका सामग्री, ठेला, गुम्टी तथा अन्य अवरोध हटाउन आग्रह गरेको छ ।

पैदलयात्रीको सहज आवागमनका लागि फुटपाथ खाली राख्न र सडकमा अव्यवस्थित रूपमा व्यापार नगर्न प्रहरीले अनुरोध गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले चाडपर्वका बेला बजारमा सर्वसाधारणको चहलपहल बढ्ने भएकाले आवागमन सहज र सुरक्षित बनाउन फुटपाथ खाली गराउन लागिएको बताए ।

उनका अनुसार सडक तथा फुटपाथ अतिक्रमण हुँदा पैदलयात्रीलाई सडकबाट हिँड्नुपर्ने अवस्था सिर्जना हुनुका साथै सवारी आवागमनसमेत प्रभावित हुने गरेको छ ।

त्यसैले व्यवसायीलाई आफ्नो व्यापारिक सामग्री निर्धारित स्थानभित्रै राख्न र सार्वजनिक सडक तथा फुटपाथ अवरुद्ध नगर्न आग्रह गरिएको छ ।

प्रहरीले सुरुमा माइकिङमार्फत सचेत गराउने र आग्रहको बेवास्ता गरी फुटपाथ अतिक्रमण जारी राखे नियमानुसार आवश्यक कदम चालिने जनाएको छ ।

चाडपर्वका बेला बजारमा हुने भीडभाडलाई व्यवस्थित गर्दै सर्वसाधारणलाई सुरक्षित र सहज रूपमा किनमेल गर्ने वातावरण बनाउन व्यवसायी, स्थानीयवासी तथा सर्वसाधारण सबैले सहयोग गर्न प्रहरीले आग्रह गरेको छ ।