-बरूणा कर्ण
जनकपुरधाम, २८ कार्तिक ।
जनकपुरधामस्थित ऐतिहासिक गंगासागर पोखरीमा आयोजना हुने छठ पर्वको सम्पूर्ण तयारी पूरा भएको छ ।

गंगासागर छठ पूजा समितिले यस वर्षको छठ पर्वलाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक तयारी पूरा गरेको जनाएको छ ।

समितिका अध्यक्ष सतिश कुमार लाल दासले पत्रकार सम्मेलनको आयोजना गर्दै सरसफाइ, पण्डाल निर्माण, विद्युतीकरण तथा घाटको सजावटलगायतका सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् ।

यस वर्ष कार्तिक २८ गते खरना, २९ गते साँझको अर्घ्य र ३० गते बिहानको अर्घ्यका साथ गंगासागरमा छठ पर्व मनाइँदैछ ।

छठ पर्वका अवसरमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सम्भावित आगमन हुने समितिले जनाएको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनकी धर्मपत्नी निकिता पौडेललगायत विशिष्ट अतिथिहरू पनि गंगासागर छठ घाट पुग्ने कार्यक्रम रहेको छ ।

विशिष्ट अतिथिहरूको सम्भावित आगमनलाई मध्यनजर गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा समितिका स्वयंसेवक परिचालन गरी विशेष सुरक्षा र भीड व्यवस्थापनको व्यवस्था मिलाइएको समितिले जनाएको छ ।

यसैबीच, छठ घाटमा पूजाका सामग्री व्यवस्थापन सहज बनाउन कार्तिक २९ गते बिहान ७ बजेदेखि मात्र डाला तथा सुपली घाटमा ल्याउन समितिले व्रतालुहरूलाई आग्रह गरेको छ ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार छठ पर्व अवधिभर गंगासागर आसपासका माछा, मासु तथा मदिराजन्य पसल बन्द गर्नुपर्नेछ ।

घाट परिसरमा डिजे बजाउन, मादक पदार्थ सेवन गरी होहल्ला गर्न तथा पटाका पड्काउनसमेत प्रतिबन्ध लगाइएको छ ।

त्यस्तै, छठ पर्वका मुख्य दिनमा गंगासागर पोखरीका चारैतर्फका डिल तथा पूजा परिसरभित्र सवारीसाधन प्रवेश र पार्किङ गर्न रोक लगाइएको छ ।

पोखरीको चारैतर्फ ठेला, फुटपाथ पसल तथा अस्थायी व्यापार व्यवसाय सञ्चालन गर्न पनि निषेध गरिएको समितिले जनाएको छ ।

सवारी आवागमन व्यवस्थित गर्न कार्तिक २९ गते दिउँसो ४ बजेदेखि ३० गते बिहानको अर्घ्य सम्पन्न नहुँदासम्म विशेष ट्राफिक व्यवस्थापन लागू गरिनेछ ।

शिवचोकदेखि कदमचोक जाने मार्गमा एकतर्फी व्यवस्था गरिनेछ भने गंगासागरको पूर्वी डिलदेखि स्वर्गद्वारीसम्मको क्षेत्रमा सवारी आवागमन रोक लगाइनेछ ।

कदमचोक, रामचोक, शिवचोक, स्वर्गद्वारी तथा उत्तिमपुर टोल जाने बाटोमा ट्राफिक चेकपोइन्ट राखिने र तोकिएका स्थानमा मात्र सवारीसाधन पार्किङ गर्न समितिले आग्रह गरेको छ ।

पर्वका तीन दिन गंगासागर र आसपासमा विद्युत् आपूर्ति नियमित राख्न नेपाल विद्युत् प्राधिकरणसँग समितिले आग्रह गरेको छ ।

साथै, अत्यधिक भीडका कारण सञ्चार सेवा प्रभावित हुन नदिन नेपाल टेलिकमलगायत दूरसञ्चार सेवा प्रदायकलाई नेटवर्क क्षमता विस्तार गर्न तथा निःशुल्क वाइफाइ र भरपर्दो इन्टरनेटको व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

छठ पर्वलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गर्न स्थानीय प्रशासन, सुरक्षा निकाय, ट्राफिक प्रहरी, सञ्चारकर्मी, स्वयंसेवक तथा सम्पूर्ण श्रद्धालु भक्तजनलाई सहयोग गर्न समितिले अपिल गरेको छ ।