जनकपुरधाम, २७ कार्तिक । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको पछाडिपट्टि शवगृह नजिकै एक पुरुषको शव फेला परेको घटनाको विरोधमा स्थानीयवासीले आज जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत रमादैयामा चक्काजाम गरेका छन् ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ निवासी ४५ वर्षीय मैतु सदाको शव बिहीबार अस्पताल परिसरमा फेला परेपछि आक्रोशित स्थानीय तथा मृतकका आफन्तले शुक्रबार रमदैयामा सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई तत्काल पहिचान गरी कारबाही गर्न माग गरेका छन् ।

उनीहरूले अस्पताल परिसरमै शव फेला पर्नु र मृतकको अवस्था शंकास्पद देखिनुले घटनाको गम्भीर अनुसन्धान हुनुपर्ने बताएका छन् ।

मृतक सदाकी श्रीमती प्रादेशिक अस्पतालमा उपचाररत थिइन् । उनी विगत पाँच दिनदेखि श्रीमतीका लागि घरबाट खाना लिएर नियमित अस्पताल आउने गरेका थिए ।

तर, पछिल्लो तीन दिनदेखि परिवार तथा आफन्तको सम्पर्कमा नआएका सदाको शव अस्पतालको पछाडिपट्टि शवगृह नजिकै फेला परेको थियो ।

मृतकका परिवारजनले उनको हत्या गरेर शव फालिएको आशंका व्यक्त गर्दै आँखासमेत निकालिएको आरोप लगाएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले मृतकको पहिचान पुष्टि गर्दै घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताए ।

घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै गरिएको चक्काजामका कारण जनकपुरधाम–ढल्केवर सडकखण्डको रमादैया क्षेत्रमा यातायात प्रभावित भएको छ ।