रेडक्रस धनुषामा शुक्रबार ५१ युनिट रगत मौज्दात
जनकपुरधाम, २७ कार्तिक । नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाको रक्तसञ्चार केन्द्रमा हाल ५१ युनिट रगत मौज्दात रहेको छ ।
शाखाले शुक्रबार सार्वजनिक गरेको रक्त भण्डार विवरणअनुसार विभिन्न ६ रक्त समूहको रगत मौज्दात रहेको छ ।
रक्त भण्डारमा ए पोजेटिभ १७, बी पोजेटिभ १८, ओ पोजेटिभ ७, एबी पोजेटिभ ४, ए नेगेटिभ १ र बी नेगेटिभ १ युनिट रगत मौज्दात रहेको छ । त्यस्तै, ओ नेगेटिभ रक्त समूहको रगत भने मौज्दातमा छैन ।
अस्पतालमा उपचाररत बिरामीलाई जुनसुकै बेला रगत आवश्यक पर्न सक्ने भएकाले रक्त भण्डारमा पर्याप्त रगतको मौज्दात कायम राख्नु चुनौतीपूर्ण रहेको नेपाल रेडक्रस सोसाइटी धनुषाका सभापति पंकजकुमार महतोले बताए ।
उनले बिरामीको उपचारका क्रममा दुर्लभ रक्त समूहको अभाव हुन नदिन नियमित रक्तदान आवश्यक रहेको बताए ।
सभापति महतोले रक्तदानलाई मानवीय सेवाको महत्वपूर्ण कार्यका रूपमा लिन आग्रह गर्दै स्वस्थ व्यक्तिहरूलाई नियमित रूपमा रक्तदान गर्न अपिल गरे ।
उनका अनुसार रक्तदानबाट संकलित रगतले दुर्घटनाका घाइते, शल्यक्रिया गर्नुपर्ने बिरामी, सुत्केरी तथा अन्य गम्भीर प्रकृतिका बिरामीको जीवन बचाउन महत्वपूर्ण सहयोग पुग्दै आएको छ ।
उनले रगतको आवश्यकता जुनसुकै बेला पर्न सक्ने भएकाले युवापुस्तासहित सबैलाई रक्तदान अभियानमा सहभागी हुन आग्रह गरे ।
नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाले रक्तसञ्चार सेवासहित एम्बुलेन्स सेवा पनि २४ सै घण्टा उपलब्ध गराउँदै आएको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




