नेपाल बार एसोसिएसन जनकपुरको निर्वाचन मंसिर २० गते हुने
जनकपुरधाम, २७ कार्तिक । नेपाल बार एसोसिएसन जनकपुरको नयाँ नेतृत्व चयनका लागि आगामी मंसिर २० गते निर्वाचन हुने भएको छ ।
निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार अध्यक्ष, उपाध्यक्ष, सचिवसहित विभिन्न पदमा नयाँ नेतृत्व चयन गर्न मतदान हुन लागेको हो ।
निर्वाचनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव (महिला), कोषाध्यक्ष, ६ जना सदस्य, एक जना महिला सदस्य र सात जना पार्षद चयन हुनेछन् ।
निर्वाचन समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार मंसिर २० गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।
निर्वाचनका लागि मंसिर २० गतेअघि नै मतदाता नामावली प्रकाशन, दाबी–विरोध, उम्मेदवारी दर्ता तथा अन्तिम नामावली प्रकाशनलगायतका प्रक्रिया पूरा गरिनेछ ।
मंसिर २० गते मतदान हुने भए पनि सार्वजनिक कार्यतालिकामा उम्मेदवारी दर्ता मंसिर १० गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली मंसिर १४ गते साँझ ४ बजे प्रकाशन गरिनेछ ।
निर्वाचनमा उम्मेदवारी दिन अध्यक्ष पदका लागि १९ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
त्यस्तै, उपाध्यक्ष र सचिवका लागि १५ हजार, कोषाध्यक्ष र सहसचिवका लागि ११ हजार, सदस्यका लागि ४ हजार तथा पार्षद पदका लागि ३ हजार रुपैयाँ शुल्क तोकिएको छ ।
उम्मेदवारी फारमबापत थप २५ रुपैयाँ बुझाउनुपर्ने निर्वाचन समितिले जनाएको छ ।
प्रमुख निर्वाचन अधिकृत लोचन साह तथा निर्वाचन अधिकृतद्वय राकेश कुमार साह र रवि शेखर ठाकुरले निर्वाचन कार्यक्रम सार्वजनिक गरेका हुन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




