जनकपुरधाम, २६ कार्तिक । जनकपुरधाममा टिपरको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारी चोकमा बिहीबार दिउँसो टिपरले पछाडिबाट स्कुटीलाई ठक्कर दिँदा स्कुटी चालकको मृत्यु भएको हो ।

रत्नसागरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७५०४ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको मधेश प्रदेश ०२–०१० प ४०६९ नम्बरको स्कुटीलाई दिउँसो करिब ४ः२० बजे ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा महोत्तरीको मनरासिस्वा नगरपालिका–५ कटैयाका २० वर्षीय नवीन चौधरी रहेका छन् । उनको पहिचान मृतकका दाइ विमल चौधरीले गरेका हुन् ।

दुर्घटनापछि प्रहरीले टिपर, स्कुटी र टिपर चालक महोत्तरीको भंगहा नगरपालिका–७ सितापुरका २२ वर्षीय सचिन कुमार सिंहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।