भीमफेदी ईभी दुर्घटना : मृतकको सङ्ख्या १४ पुग्यो, सबैको सनाखत
जनकपुरधाम, २६ कार्तिक । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको यात्रुवाहक विद्युतीय गाडी (ईभी) दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ ।
दुर्घटनास्थलबाट थप तीन जनाको शव फेला परेसँगै मृतकको सङ्ख्या १४ पुगेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा ज्यान गुमाउने सबैको पहिचान खुलेको छ । मृतकमध्ये पाँच जना महिला तथा बालबालिका र नौ जना पुरुष रहेका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय गाडी चालक रविशंकर कुमार मण्डलसहित चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका १३ जना रहेका छन् ।
दुर्घटनामा मृत्यु हुनेमा २६ वर्षीय बिकेश यादव, ३५ वर्षीया पुनम यादव, ७ वर्षीया दिक्षा यादव, ५ वर्षीया दिपिका यादव, १० वर्षीया अनु कुमारी यादव, ३५/३६ वर्षीय गुड्डु यादव, ३०/३२ वर्षीया गायत्री देवी, २५/२६ वर्षीय रामदुलार यादव, २४/२५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादव रहेका छन् । थप तीन जनाको पहिचान खुलेसँगै मृतक सबैको सनाखत भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । घाइतेमध्ये ३३ वर्षीय मुकेश यादव, ५ वर्षीय सक्षम कुमार यादव र २६ वर्षीय देवेन्द्र राय उपचारपछि डिस्चार्ज भएका छन् ।
त्यस्तै, ३ वर्षीय सुजन यादव र १४ महिनाका सुदिप यादवलाई थप उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पताल पठाइएको छ भने ३१ वर्षीय देवेन्द्र भनिने बेचु रायलाई भरतपुरस्थित मनकामना अस्पतालमा रिफर गरिएको छ ।
काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी हाइस बिहीबार बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत चिसापानीगढीमा दुर्घटनामा परेको थियो । सडकबाट करिब ५०० मिटर तल खसेको गाडी दुर्घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीले उद्धार गरेको थियो ।
दुर्घटनामा ठूलो मानवीय क्षति भएपछि घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




