गरिबी र बेरोजगारी न्यूनीकरणलाई प्राथमिकता दिँदै मुख्यमन्त्री यादवले गरे दुई निर्णय
जनकपुरधाम, ०६ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गरेलगत्तै प्रदेशमा रोजगारी सिर्जना र वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै दुईवटा निर्णय गरेका छन् ।
मुख्यमन्त्री यादवले प्रदेशमा बढ्दो गरिबी तथा बेरोजगारी न्यूनीकरण गरी युवा, श्रमिक र महिलालाई सीपयुक्त बनाउँदै आत्मनिर्भर बनाउने उद्देश्यसहित विभिन्न रोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका हुन् ।
निर्णयअनुसार मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिका लागि स्वरोजगार कार्यक्रम, मुख्यमन्त्री रोजगार कार्यक्रम तथा सार्वजनिक रोजगार सेवा प्रवर्द्धन कार्यक्रम अघि बढाइनेछ ।
त्यस्तै, आधुनिक प्रविधिको प्रयोगमार्फत स्वरोजगार र उद्यमशीलता विकास गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई), ई–कमर्स तथा कम्प्युटरसम्बन्धी तालिम सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ ।
एकीकृत रोजगार कार्यक्रम प्रदेशका पाँच जिल्लामा नौ महिनासम्म सञ्चालन गर्ने निर्णयमा उल्लेख छ । यसबाट बेरोजगार युवा तथा श्रमिकलाई सीप र रोजगारीका अवसरसँग जोड्ने लक्ष्य राखिएको छ ।
यसैगरी, मुख्यमन्त्री यादवले वन तथा वातावरण संरक्षण र जलवायु परिवर्तनका असर न्यूनीकरणसम्बन्धी कार्यक्रमलाई पनि प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेका छन् ।
पदभार ग्रहणसँगै गरिएका यी निर्णयले मधेश प्रदेशमा रोजगारीका अवसर विस्तार, सीप विकास, उद्यमशीलता प्रवर्द्धन तथा वातावरण संरक्षणमा जोड दिने सरकारको प्रारम्भिक कार्यदिशा स्पष्ट पारेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




