मुख्यमन्त्री यादवले शनिबार विश्वासको मत लिने
जनकपुरधाम, २६ कार्तिक । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी कार्तिक २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शुक्रबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरेका छन् ।
सभामुख यादवका अनुसार प्रदेशसभा बैठक सञ्चालन तथा कार्यसूची तय गर्न शुक्रबार दिउँसो कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । उक्त बैठकले विश्वासको मतसम्बन्धी प्रस्तावसहित प्रदेशसभा बैठकको कार्यसूची निर्धारण गर्नेछ ।
प्रदेश सरकारमा सहभागी नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव विश्वासको मत लिन बाध्य भएका हुन् । मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा सचिवालयलाई बुधबार नै औपचारिक पत्र पठाइसकेका छन् ।
सरकारको पक्षमा आवश्यक बहुमत जुटाउन मुख्यमन्त्री यादवले विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल र संवादलाई तीव्रता दिएका छन् । विश्वासको मत प्राप्त गर्ने विषयमा राजनीतिक दलहरूसँग संवाद भइरहेको र मतदान हुनुअघिसम्म पनि सहमतिको प्रयास जारी रहने मुख्यमन्त्री यादवले बताए ।
नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्दै आएका एमालेका चार मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए । त्यसपछि सरकारमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले पनि कार्तिक २० गते राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।
दुई प्रमुख सहयोगी दलले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सरकार जोगाउन मुख्यमन्त्री यादवले राजनीतिक समीकरण मिलाउने प्रयास गरिरहेका छन् ।
१०७ सदस्यीय मधेश प्रदेशसभामा सरकार गठन तथा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक हुन्छ । प्रदेशसभामा नेपाली कांग्रेसका २२, नेकपा एमालेका २३, जनता समाजवादी पार्टी नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन् । त्यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन् ।
प्रदेशसभाको अंकगणितअनुसार कांग्रेससँग आफ्ना २२ सांसद मात्रै रहेकाले मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त गर्न थप ३२ सांसदको समर्थन जुटाउनुपर्ने चुनौती छ । यस्तो अवस्थामा जसपा नेपाल, जनमत पार्टी तथा अन्य दलको भूमिका निर्णायक देखिएको छ ।
कार्तिक २८ गते हुने विश्वासको मतको मतदानले वर्तमान सरकारको भविष्यसँगै मधेश प्रदेशको आगामी सत्ता समीकरणसमेत तय गर्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




