प्रादेशिक अस्पतालको शवगृह नजिकै पुरुषको शव फेला, हत्या भएको परिवारको आशंका
जनकपुरधाम, २६ कार्तिक । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको पछाडिपट्टि शवगृह नजिकै एक पुरुषको शव फेला परेको छ । मृत व्यक्ति धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ निवासी ४५ वर्षीय मैतु सदा रहेको प्रहरीले पुष्टि गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार सदाको शव अस्पताल परिसरको पछाडिपट्टि शवगृह नजिकै फेला परेको हो । उनी केही दिनदेखि सम्पर्कविहीन रहेपछि प्रहरीले खोजतलास गरिरहेको थियो ।

प्रहरीका अनुसार सदाकी श्रीमती प्रादेशिक अस्पतालमा उपचाररत थिइन् । श्रीमतीको उपचारका क्रममा उनी विगत पाँच दिनदेखि घरबाट खाना लिएर नियमित रूपमा अस्पताल आउने गरेका थिए । तर, पछिल्लो तीन दिनदेखि उनी परिवार तथा आफन्तको सम्पर्कमा आएका थिएनन् ।
सम्पर्कविहीन भएपछि परिवारको जानकारीका आधारमा प्रहरीले उनको खोजतलास गरिरहेको थियो । सोही क्रममा अस्पताल परिसरमै उनको शव फेला परेको हो ।

शव फेला परेपछि घटनाले अस्पताल परिसरमा तनावपूर्ण अवस्था सिर्जना गरेको छ । मृतकका परिवारजनले उनको स्वाभाविक मृत्यु नभई हत्या गरेर शव फालिएको आशंका व्यक्त गरेका छन् । परिवारका सदस्यहरूले मृतकको आँखा र मिर्गौलासमेत निकालिएको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
परिवारजनका अनुसार श्रीमती अस्पतालमा उपचाररत रहेकाले मैतु सदा दिनहुँ खाना लिएर अस्पताल आउने गरेका थिए । तर, एकाएक सम्पर्कविहीन हुनु र अस्पतालकै पछाडिपट्टि शव फेला पर्नुले घटना शंकास्पद रहेको उनीहरूको भनाइ छ । उनको मृत्युको वास्तविक कारण पत्ता लगाउन तथा घटनामा संलग्न व्यक्तिको पहिचान गरी कारबाही गर्न परिवारले माग गरेको छ ।

शव फेला परेपछि आक्रोशित परिवारजन तथा स्थानीयले प्रादेशिक अस्पताल परिसरमा घेराउ गर्दै नाराबाजीसमेत गरेका छन् । उनीहरूले घटनाको सत्यतथ्य सार्वजनिक गर्न, शवको अवस्था र मृत्युको कारणबारे स्पष्ट पार्न तथा दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

शव परीक्षण तथा आवश्यक अनुसन्धानबाट मात्रै यस विषयमा वास्तविकता खुल्नेछ । यता, जिल्ला प्रहरी कार्यालय धनुषाले घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




