जनकपुरधाम, २६ कार्तिक । मधेश प्रदेशका बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण तथा आधारभूत सेवामा पहुँचको अवस्था कमजोर देखिएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिवेदनअनुसार मधेश प्रदेशका २१ दशमलव ३ प्रतिशत बालबालिका बहुआयामिक वञ्चितीकरणबाट प्रभावित छन् ।

बालबालिकाको सर्वाङ्गीण विकासका लागि आवश्यक शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी, सरसफाइ, आवास र सूचनाको पहुँचजस्ता आधारभूत अधिकारबाट एकैसाथ वञ्चित हुनुलाई बहुआयामिक वञ्चितीकरण भनिन्छ ।

पाँच वर्षमुनिका बालबालिकामा कुपोषण र साना बालबालिकाले उमेरअनुसार पर्याप्त तथा विविधतायुक्त आहार नपाउने समस्या गम्भीर देखिएको छ ।

प्रतिवेदनअनुसार मधेश प्रदेशका पाँच वर्षमुनिका २६ दशमलव २ प्रतिशत बालबालिकामा पुड्कोपनको समस्या छ । त्यस्तै, ६ देखि २३ महिनासम्मका ६० दशमलव ७ प्रतिशत बालबालिकाले उमेरअनुसार आवश्यक पर्ने पर्याप्त र विविधतायुक्त आहार पाउन सकेका छैनन् ।

बाल्यावस्थामा आवश्यक पोषण नपाउँदा बालबालिकाको शारीरिक तथा मानसिक विकासमा असर पर्ने जोखिम रहन्छ । यसको प्रभाव तत्कालीन स्वास्थ्यमा मात्र सीमित नभई भविष्यमा सिक्ने क्षमता, शारीरिक वृद्धि र सामाजिक अवसर प्राप्त गर्ने क्षमतामा समेत पर्न सक्छ ।

मधेश प्रदेश नीति तथा योजना आयोगका सदस्य नवल यादवले सम्भावनाले भरिपूर्ण प्रदेशमा बालबालिकाको अवस्था कमजोर रहनु चिन्ताको विषय भएको बताए । बालबालिकाको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य, पोषण तथा आधारभूत सेवासम्बन्धी कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने उनको भनाइ छ ।

बालबालिकाको वास्तविक आवश्यकता र समस्यालाई केन्द्रमा राखेर नीति निर्माण तथा कार्यक्रम कार्यान्वयन गर्न सके मात्र अपेक्षित सुधार सम्भव हुने यादवले बताए । उनका अनुसार बालबालिकाको भविष्य सुनिश्चित गर्न उनीहरूको स्वास्थ्य, शिक्षा र पोषणमा राज्यको लगानी बढाउनु आवश्यक छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछानेले बहुआयामिक वञ्चितीकरण न्यूनीकरणका लागि शिक्षा, स्वास्थ्य र खानेपानीमा पहुँच विस्तारसँगै डिजिटल साक्षरतामा समेत ध्यान दिनुपर्ने बताए । बालबालिकाको जीवनस्तर सुधार गर्न आधारभूत सेवाको उपलब्धता मात्र नभई ती सेवामा सबैको समान पहुँच सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिवेदनले आर्थिक रूपमा विपन्न परिवारका बालबालिका तथा कम शैक्षिकस्तर भएका आमाका सन्तान बहुआयामिक वञ्चितीकरणको बढी जोखिममा रहने गरेको देखाएको छ । परिवारको आर्थिक अवस्था, आमाको शैक्षिक स्तर र आधारभूत सेवाको उपलब्धताले बालबालिकाको स्वास्थ्य, पोषण तथा शैक्षिक अवसरमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ ।

गरिबी, पोषणयुक्त खानाको अभाव, स्वास्थ्य सेवामा सीमित पहुँच र गुणस्तरीय शिक्षाको कमीले बालबालिकाको विकासमा अवरोध सिर्जना गरिरहेको छ । यस्तो अवस्थामा बालबालिकाको वास्तविक अवस्थालाई आधार बनाएर योजना निर्माण गर्नु र लक्षित वर्गसम्म सरकारी सेवा तथा सुविधा पुर्याउनु आवश्यक देखिएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालय र युनिसेफ नेपालले सन् २०२६ सेप्टेम्बरमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालभर २१ दशमलव ४ प्रतिशत बालबालिका बहुआयामिक वञ्चितीकरणमा रहेका छन् । राष्ट्रिय औसतको तुलनामा मधेश प्रदेशको अवस्था केही कम देखिए पनि बालबालिकाको ठूलो हिस्सा आधारभूत अधिकार र सेवाबाट वञ्चित हुनु गम्भीर चुनौतीका रूपमा रहेको छ ।

बालबालिकाको पोषण, स्वास्थ्य, शिक्षा, संरक्षण र सुरक्षित खानेपानीमा पहुँच सुनिश्चित गर्न समयमै प्रभावकारी कदम चाल्न नसके त्यसको असर आगामी पुस्ताको मानव विकासमा समेत पर्ने देखिन्छ । त्यसैले बालबालिकाको सर्वाङ्गीण विकासलाई प्रदेश तथा स्थानीय सरकारको प्राथमिकतामा राख्नुपर्ने आवश्यकता प्रतिवेदनले औँल्याएको छ ।