जनकपुरधाम, २६ कार्तिक । छठ पर्वको अवसरमा महोत्तरीको मटिहानीस्थित बिगही नदीमा करिब डेढ किलोमिटर लामो छठ घाट निर्माण गरिएको छ ।

नेपाल र भारतका श्रद्धालुले सामूहिक रूपमा छठ पर्व मनाउने यस नदीको किनारमा टेन्टसहितको व्यवस्थित घाट तयार पारिएको हो ।

महोत्तरीको मटिहानी, धनुषाको तुलसियाही तथा भारतको बिहारस्थित मधवापुर र रामपुरका श्रद्धालुहरूलाई लक्षित गरी नदीको दुवैतर्फ घाट व्यवस्थापन गरिएको छ । छठ व्रतालु तथा श्रद्धालुको सुविधाका लागि लामो दूरीसम्म टेन्ट लगाएर पूजा गर्ने स्थान तयार पारिएको छ ।

मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलका अनुसार बिगही नदीमा निर्माण गरिएको छठ घाट सम्भवतः नेपालकै सबैभन्दा लामो घाट हो । नेपाल र भारतका सीमावर्ती क्षेत्रका हजारौँ श्रद्धालु एकै स्थानमा भेला भएर छठ पर्व मनाउने भएकाले व्यवस्थित व्यवस्थापनमा विशेष ध्यान दिइएको उनले बताए ।

नगरप्रमुख मण्डलले छठ पर्वले नेपाल र भारतका सीमावर्ती क्षेत्रका नागरिकबीच धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै आएको उल्लेख गरे । उनका अनुसार बिगही नदीमा दुवै देशका श्रद्धालु सहभागी हुने भएकाले घाट व्यवस्थापन धार्मिक कार्यक्रम मात्र नभई सीमापार सामाजिक सद्भाव र सांस्कृतिक एकताको प्रतीकसमेत बनेको छ ।

मिथिलाञ्चलको प्रमुख लोकआस्थाको पर्व छठमा व्रतालुहरूले अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्ने परम्परा छ । यही परम्परालाई निरन्तरता दिँदै बिगही नदीमा यस वर्ष पनि ठूलो संख्यामा श्रद्धालु सहभागी हुने विश्वास गरिएको छ ।