जनकपुरधाम, २६ कार्तिक । आस्थाको महापर्व छठ पर्वको अवसरमा जनकपुरधाममा १५० भन्दा बढी व्रतालु महिलालाई साडी वितरण गरी सम्मान गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१ स्थित वकिल टोलमा रहेको मोडर्न ई.से.बो. स्कुलको प्राङ्गणमा बिहीबार आयोजित कार्यक्रममा छठ व्रत गर्ने महिलाहरूलाई साडी वितरण गरिएको हो ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का पूर्ववडाध्यक्ष शत्रुधन साहको आयोजनामा भएको कार्यक्रममा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य मनिष झाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा स्थानीय महिला, समाजसेवी, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता थियो ।

छठ पर्वमा कठोर व्रत, नियम र निष्ठाका साथ सूर्यदेव तथा छठी माताको आराधना गर्ने व्रतालु महिलाहरूको योगदानको कदर गर्दै उनीहरूलाई सम्मानस्वरूप साडी वितरण गरिएको साहले बताए । उनका अनुसार पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई आत्मसात् गर्दै व्रतालु महिलालाई सहयोग र सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

छठ पर्व मिथिलाको धार्मिक, सांस्कृतिक र सामाजिक पहिचानसँग जोडिएको महत्त्वपूर्ण पर्व हो । यस पर्वमा व्रतालु महिलाहरूले परिवारको सुख, शान्ति, समृद्धि तथा सन्तानको दीर्घायुको कामना गर्दै चार दिनसम्म विभिन्न विधि पूरा गरी सूर्यदेवको उपासना गर्ने परम्परा छ ।