रवि लामिछाने छठ मनाउन परिवारसहित जनकपुरधाम आउँदै, सर्वसाधारणको घरमा बस्ने
जनकपुरधाम, २६ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनकी धर्मपत्नी निकिता पौडेलले यस वर्षको छठ पर्व जनकपुरधाममा मनाउने भएका छन् ।
उनीहरू छठ पर्वका सम्पूर्ण विधि जनकपुरधाममै बसेर पूरा गर्ने तयारीमा रहेको रास्वपाका नेता तथा प्रतिनिधिसभा सदस्य मनिष झाले जानकारी दिएका छन् ।
बिहीबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद झाले सभापति लामिछानेसँग टेलिफोनमा कुराकानी भएको र छठ पर्वका सबै विधि निष्ठापूर्वक सम्पन्न गर्ने विषयमा छलफल भएको बताए । उनका अनुसार लामिछाने दम्पती जनकपुरधामका कुनै सर्वसाधारण स्थानीयको घरमा बसेर छठ पर्व मनाउनेछन् ।
पार्टीका नेता कार्यकर्ता, नजिकका चिनजानका व्यक्ति वा आफन्तको घरमा नभई सर्वसाधारण नागरिकको घरमा बसेर पर्व मनाउने निर्णय भएको सांसद झाले स्पष्ट पारे । यसले स्थानीय जनजीवन र मिथिलाको मौलिक संस्कृतिसँग प्रत्यक्ष जोडिने अवसर प्रदान गर्ने उनको भनाइ छ ।
सांसद झाका अनुसार लामिछाने दम्पतीले जनकपुरधामस्थित गंगासागर पोखरीको घाटमा पुगेर अस्ताउँदो तथा उदाउँदो सूर्यलाई अर्घ्य दिने लगायतका छठका विधि सम्पन्न गर्नेछन् । घाटमा श्रद्धालुको भीडलाई ध्यानमा राख्दै उनीहरू केही समय अगाडि वा पछाडि पुग्ने कार्यक्रम तय गरिएको छ ।
लामिछानेको जनकपुरधाम बसाइँ राजनीतिक भेटघाटभन्दा छठ पर्व र धार्मिक विधिमा केन्द्रित रहने सांसद झाले बताए । यस क्रममा जनकपुरधामका विभिन्न पोखरी तथा धार्मिक स्थलहरूको महत्त्वबारे पनि सभापति लामिछानेलाई जानकारी गराइने उनले उल्लेख गरे ।
यसैबीच, प्रधानमन्त्री वालेन्द्र शाह पनि छठ पर्वका अवसरमा जनकपुरधाम आउने चर्चा चलिरहेका बेला सांसद झाले त्यसबारे शुक्रबार बिहान मात्रै यकिन जानकारी दिन सकिने बताए । प्रधानमन्त्रीको जनकपुरधाम आगमनको सम्भावना कम देखिए पनि औपचारिक जानकारी प्राप्त भएपछि मात्रै स्पष्ट भन्न सकिने उनको भनाइ छ ।
यता, जनकपुरधामका विभिन्न पोखरी तथा छठ घाटहरू सजाउने र व्यवस्थापन गर्ने काम अन्तिम चरणमा पुगेको छ । चार दिनसम्म श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वको पहिलो दिन शुक्रबार नहाय–खाय विधि हुँदैछ । शनिबार खरना, आइतबार अस्ताउँदो र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुनेछ ।
मिथिलाको धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचानसँग जोडिएको छठ पर्वका लागि जनकपुरधाममा देशका विभिन्न स्थानबाट श्रद्धालु आउने गरेका छन् । यस वर्ष रास्वपा सभापति लामिछानेको आगमनले पनि जनकपुरधामको छठ पर्वप्रति थप राष्ट्रिय चासो बढाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




