जनकपुरधाम, २६ कार्तिक । मैथिली भाषासहित मिथिलाको मौलिक लोकसंस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले जनकपुरधाममा सामा–चकेवा प्रतियोगिता आयोजना हुने भएको छ ।

मैथिली विकास कोषको आयोजनामा आगामी मंसिर ५ गते शनिबार जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता अपराह्न ४ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।

मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले सामा–चकेवा मिथिलाको विशिष्ट लोकपर्व तथा दाजुभाइ र दिदीबहिनीबीचको अटुट प्रेम, स्नेह र आत्मीयताको प्रतीक रहेको बताए ।

आधुनिकताको प्रभावसँगै नयाँ पुस्तामा मौलिक लोकसंस्कृति र परम्पराप्रतिको आकर्षण घट्दै गइरहेको अवस्थामा यस्ता कार्यक्रमले सांस्कृतिक पहिचानलाई जीवन्त राख्न महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

अध्यक्ष चौधरीका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य सामा–चकेवाको परम्परागत विधि, गीत, नृत्य र सांस्कृतिक अभ्यासलाई नयाँ पुस्तासम्म पुर्याउनुका साथै सामूहिक रूपमा पर्व मनाउने संस्कृतिलाई प्रोत्साहन गर्नु हो । उनले गाउँटोलमा सामा–चकेवा खेल्दै आएका समूहहरूलाई प्रतियोगितामा सहभागी हुन आग्रहसमेत गरे ।

मिथिलामा सामा–चकेवा पर्व कार्तिक पूर्णिमादेखि सुरु भएर पूर्णिमापछि सम्पन्न हुने परम्परा छ । यस पर्वमा दिदीबहिनीहरूले माटोका विभिन्न आकृति बनाएर सामा–चकेवाको पूजा तथा खेलमार्फत दाजुभाइको दीर्घायु र सुखसमृद्धिको कामना गर्ने गर्छन् ।

मैथिली विकास कोषले प्रतियोगितामा सहभागी हुन गाउँटोलका सामा–चकेवा समूहहरूलाई आह्वान गर्दै मिथिलाको मौलिक संस्कृति संरक्षण अभियानमा सबैको सहभागिता आवश्यक रहेको जनाएको छ ।