गंगासागरमा छठ पूजाको तयारी तीव्र, रवि लामिछाने परिवारसहित जनकपुरधाममा छठ मनाउने
जनकपुरधाम, २६ कार्तिक । जनकपुरधामस्थित ऐतिहासिक गंगासागर पोखरीमा छठ पर्वको तयारी तीव्र पारिएको छ ।
गंगासागर छठ पूजा समितिले वि.सं. २०५० सालदेखि निरन्तर रूपमा पोखरीमा छठ पूजाको व्यवस्थापन गर्दै आएको छ । श्रद्धालुको बढ्दो भीडलाई व्यवस्थित गर्न समिति हरेक वर्ष आवश्यक तयारी र व्यवस्थापनमा जुट्दै आएको हो ।

गंगासागर छठ पूजा समितिका अध्यक्ष सतिश लाल दासका अनुसार यस वर्ष गंगासागर घाटमा करिब आठ हजार श्रद्धालुले छठ पर्व मनाउने अनुमान गरिएको छ । श्रद्धालुको सुविधालाई ध्यानमा राख्दै पण्डाल निर्माण, विद्युत् बत्ती, ध्वनि प्रणाली तथा घाटको अन्य आवश्यक व्यवस्थापनलाई प्राथमिकता दिइएको उनले बताए ।

यस वर्ष व्यवस्थापन खर्च जुटाउन प्रतिघर ६ सय रुपैयाँ सहयोग रकम निर्धारण गरिएको अध्यक्ष दासले जानकारी दिए । उनका अनुसार समितिले करिब साढे तीन सय रसिद मात्रै काट्ने गरेको छ भने बाँकी श्रद्धालुका लागि प्रायः निःशुल्क रूपमा व्यवस्थापन गरिँदै आएको छ । समाजको सहयोग र सहकार्यबाट घाटलाई थप व्यवस्थित बनाउने प्रयास भइरहेको उनले बताए ।

अध्यक्ष दासले छठ पर्वलाई व्यवस्थित र सुरक्षित बनाउन स्थानीय समाजको सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गर्दै जनकपुरधाम उपमहानगरपालिकाबाट भने पछिल्ला तीन–चार वर्षदेखि आर्थिक सहयोग प्राप्त नभएको गुनासो गरे । उनका अनुसार उपमहानगरपालिकाले सरसफाइमा सहयोग गरे पनि पण्डाल, बत्ती, साउण्डलगायतका व्यवस्थापनका लागि आर्थिक सहयोग उपलब्ध गराएको छैन ।
यसैबीच, यस वर्ष राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले परिवारसहित गंगासागर घाटमा छठ पर्व मनाउने जानकारी प्राप्त भएको छ । उनको सम्भावित उपस्थितिलाई समेत ध्यानमा राख्दै घाटको व्यवस्थापनलाई थप व्यवस्थित बनाउने तयारी भइरहेको छ ।

धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको गंगासागर पोखरीमा प्रत्येक वर्ष छठ पर्व मनाउन श्रद्धालुको उल्लेख्य भीड लाग्ने गर्छ । सीमित स्रोतसाधनका बाबजुद स्थानीयको सहयोगमा समितिले वर्षौंदेखि घाट व्यवस्थापन गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




