–ज्योति झा
जनकपुरधाम, २६ कार्तिक ।
हिन्दू धर्मावलम्बीहरूको महान् पर्व छठ प्रकृति र आस्थाको अनुपम संगम हो । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर मनाइने यस पर्वमा सूर्य उपासनासँगै प्रकृतिप्रति कृतज्ञता प्रकट गरिन्छ । छठमा प्रयोग हुने बाँसका सुप, कोनिया, ढाकन, दौरा लगायतका सामग्रीले पर्वको सांस्कृतिक महत्त्व झल्काउँछन् । तर, यही सामग्री धेरै परिवारका लागि आस्था मात्र नभई जीविकोपार्जनको आधारसमेत बनेको छ ।

महँगी बढ्दो छ, रोजगारीका अवसर सीमित छन् । यस्तो अवस्थामा छठ पर्वले केही समुदायका लागि मौसमी रोजगारी र आम्दानीको अवसर सिर्जना गरेको छ । वर्षभरि आर्थिक अभावसँग जुध्ने परिवारका लागि तिहारदेखि छठसम्मको समय कमाइ गर्ने विशेष मौसम बन्ने गरेको छ ।

धनुषाको झोझी कटैयामा करिब १५० घरधुरी मुखिया समुदायको बसोबास छ । यहाँका अधिकांश परिवारको पुस्तौँदेखिको पेसा बाँसका सामग्री बनाउनु हो । गाउँमा आँपको रुखमुनि समूहमा बसेर महिला तथा पुरुषहरू बाँसका सामग्री बुन्न व्यस्त देखिन्छन् । कसैले बाँस चिर्छन्, कसैले सुप र कोनिया बनाउँछन् त कसैले तयार भएका सामग्री बिक्रीका लागि मिलाउँछन् । छठ नजिकिँदै जाँदा उनीहरूको व्यस्तता पनि बढ्दै जान्छ ।

झोझी कटैया वडा नम्बर ३ का लक्ष्मी मुखिया यस पेसामा संलग्न तेस्रो पुस्ताका व्यक्ति हुन् । उनका पुर्खादेखि नै बाँसका सामग्री बनाउने काम हुँदै आएको छ । उनका दुई छोरा र एक छोरी छन् । परिवारको जिम्मेवारी बोकेका लक्ष्मीका लागि यो पेसा जीवन धान्ने एउटा महत्त्वपूर्ण आधार हो ।

लक्ष्मी भन्छन्, ‘घर चलाउन र पेट पाल्न केही न केही काम त गर्नैपर्यो । अरू समयमा अरूको खेतमा काम गर्छु, जसोतसो जीवन चलिरहेको हुन्छ । तर, तिहार लागेपछि हामी बाँसका सामग्री बनाउन थाल्छौँ । छठमा राम्रो कमाइ हुन्छ । जसरी छठमा सूर्यलाई अघ्र्य दिइन्छ, त्यसरी नै छठ हाम्रो जीवनमा पनि उज्यालो बनेर आउँछ ।’

तर, लक्ष्मीको जीवनमा आर्थिक संघर्षसँगै सामाजिक विभेदको पीडा पनि जोडिएको छ । उनी भन्छन्, ‘सूर्यले कसैलाई भेदभाव गर्दैन, सबैलाई समान रूपमा प्रकाश दिन्छ । तर, मानिसले हामीसँग भेदभाव गर्छन् । दुःख लाग्छ, अझ हिन्दू समुदायभित्रै यस्तो विभेद देखिन्छ । मेरो अनुभवमा मुस्लिम समुदायबाट भने त्यस्तो व्यवहार कम भएको पाएको छु ।’

सोही गाउँका १६ वर्षीय जोगिन्दर यादव पनि छठको मौसममा बाँसका सामग्री बनाउने काममा व्यस्त हुन्छन् । अन्य समयमा खेतीपातीसँगै आफ्नो पढाइलाई निरन्तरता दिइरहेका उनी तिहार सुरु भएपछि यस काममा जुट्छन् । उनका लागि यो काम अतिरिक्त आम्दानीसँगै परिवारलाई सहयोग गर्ने अवसर पनि हो ।

त्यस्तै, १९ वर्षीय रामकलेशको कथा भने आर्थिक बाध्यता र अधुरो शैक्षिक सपनासँग जोडिएको छ । आठ कक्षासम्म अध्ययन गरेका उनी अहिले खेतीपाती गर्छन् । सानै उमेरमा आफूले रोजेको युवतीसँग विवाह गरेका रामकलेशका काँधमा अहिले परिवारको जिम्मेवारी थपिएको छ ।

उनी भन्छन्, ‘म अरू समयमा खेती गर्छु । अहिले सिजन भएकाले दुई–चार रुपैयाँ बढी आम्दानी हुन्छ भन्ने सोचले बाँसका सामग्री पनि बनाउँछु । पढ्ने रहर थियो, तर आर्थिक अवस्थाका कारण पढाइलाई निरन्तरता दिन सकिनँ । मैले आठ कक्षासम्म पढेँ, गाउँका धेरैले त्यो अवसर पनि पाएका छैनन् ।’

रामकलेशका अनुसार पढेलेखेका युवाले समेत उचित रोजगारी र पारिश्रमिक पाउन कठिन छ । त्यसैले उनी वैदेशिक रोजगारीमा जाने योजनामा छन् । ‘मेरा धेरै साथी विदेश गएर पैसा कमाइरहेका छन् । नेपालमा पढेको मान्छेले पनि राम्रो रोजगारी पाउन सकेको छैन । पाए पनि ज्याला थोरै हुन्छ । परिवारको जिम्मेवारी पूरा गर्न म पनि विदेश जाने तयारीमा छु,’ उनी भन्छन् ।

गाउँकै ५५ वर्षीय परिछन मुखियाका लागि श्रम नै जीवनको आधार हो । उमेरले पाँच दशक पार गरे पनि उनी अझै काम गर्न सक्रिय छन् । उनका लागि अरूको सहारामा बस्नुभन्दा आफ्नो सीप र श्रममा विश्वास गर्नु ठूलो कुरा हो ।

‘जबसम्म शरीरले साथ दिन्छ, तबसम्म काम गर्नुपर्छ । अरूको सहारा लिएर बस्नुभन्दा सकेसम्म आफैँ काम गरेर खानु राम्रो हो,’ उनी भन्छन् ।

परिछन बाँसको सुप, कोनिया मात्र बनाउँदैनन् । उनी धान, गहुँ र चामल राख्न प्रयोग हुने टाट र कोठीसमेत बनाउँछन् । यसका लागि उनी गाउँगाउँ पुग्ने गर्छन् । ‘मलाई कसैले बोलायो भने काम गर्न पुग्छु । पूर्वतिर कमलासम्म पनि कोठी बनाउन धेरै पटक गएको छु,’ उनी सुनाउँछन् ।

आफ्नो सीपप्रति गर्व गर्ने परिछनलाई भने समयसँगै परम्परागत सामग्रीको प्रयोग घट्दै गएकोमा चिन्ता छ ।‘हातमा कला हुनुपर्छ । भगवानले मलाई त्यो कला दिनुभएको छ । तर, अहिले आधुनिक समय आएको छ । मानिसले कोठीको सट्टा ट्रङ्क र आलमारी प्रयोग गर्न थालेका छन् । टाटको ठाउँमा इँटाको पर्खाल बन्न थालेको छ । तैपनि अहिलेसम्म यही सीपले जीवन चलिरहेको छ,’ उनी भन्छन् ।

उनका अनुसार तिहारदेखि छठसम्मको समय उनीहरूको मुख्य कमाइको मौसम हो । यस अवधिमा करिब ५०–६० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनी बताउँछन् । यही आम्दानीले छठ पर्व मनाउन र घरखर्च चलाउन सहयोग पुग्ने गरेको छ ।

छठ पर्वलाई प्रायः धार्मिक आस्था, शुद्धता, प्रकृति पूजा र सामाजिक एकताको पर्वका रूपमा बुझिन्छ । तर, यसको अर्को महत्त्वपूर्ण पक्ष आर्थिक गतिविधि पनि हो । छठमा प्रयोग हुने बाँसका सामग्री उत्पादनदेखि बिक्रीसम्मको प्रक्रियाले पुस्तौँदेखि सीप बोकेर बसेका समुदायलाई रोजगारी र आम्दानीको अवसर दिएको छ ।

सुप र कोनिया बनाउने हातमा बाँसका सामग्री बुन्ने सीप मात्र छैन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको परम्परा र संस्कृति पनि छ । तर, आधुनिक जीवनशैली, बजारमा उपलब्ध वैकल्पिक सामग्री र उचित मूल्यको अभावले यस्ता परम्परागत पेसा चुनौतीमा पर्दै गएका छन् ।

छठले केही दिनका लागि भए पनि उनीहरूको घरमा थप आम्दानी र खुसी ल्याउँछ । तर प्रश्न छ—पर्व सकिएपछि उनीहरूको रोजगारी र जीवनयापनको आधार के हुन्छ?

सूर्यले सबैलाई समान प्रकाश दिन्छ भन्ने आस्थाका बीच समाजमा जातका आधारमा हुने विभेद अझै अन्त्य हुन सकेको छैन । छठको वास्तविक सन्देश आत्मसात् गर्ने हो भने पूजा र परम्परासँगै श्रमको सम्मान, सीपको संरक्षण र सामाजिक समानतालाई पनि व्यवहारमा उतार्न आवश्यक छ । किनकि छठ अर्घ्य र पूजाको पर्व मात्र नभई हजारौँ श्रमिकका हातमा सीप, परिवारमा आशा र जीवनमा केही दिन भए पनि उज्यालो ल्याउने पर्व पनि हो ।