जनकपुरधाम, २६ कार्तिक । धनुषामा सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएपछि फरार भएका कार चालकलाई प्रहरीले दुई वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–८ सोनपारा टोलका २५ वर्षीय शिवशंकर यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार २०८० चैत १३ गते बिहान करिब ६ः१५ बजे लक्ष्मीनिया गाउँपालिका–६ स्थित सेन्ट्रल अस्पताल अगाडि जनकपुर–ढल्केवर सडकखण्डमा भारतीय नम्बर प्लेटको कारले प्रदेश २–०२–००४ प ६९४७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक महोत्तरीको लोहारपट्टी नगरपालिका–४ खुट्टा टोल निवासी २५ वर्षीय रामबाबु साह सोनार गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

दुर्घटनापछि कार चालक यादव घटनास्थलबाटै फरार भएका थिए । प्रहरीले उनको खोजी कार्यलाई निरन्तरता दिँदै आएको थियो ।

यसैक्रममा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले यादव सिरहाको मिर्चैयामा लुकिछिपी बसेको अवस्थामा फेला पारेको हो ।

इलाका प्रहरी कार्यालय मिर्चैयासँगको समन्वयमा उनलाई कार्तिक २५ गते दिउँसो करिब ३ः२० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ परेका यादवमाथि सवारी ज्यान मुद्दामा प्रचलित कानुनबमोजिम कारबाही तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।